१० जना जनप्रतिनिधिलाई पदमुक्त गर्न नेकपाको सिफारिस



सप्तरी। नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारविरुद्ध लागेको आरोपमा १० जना जनप्रतिनिधिलाई कारबाही गरी पदमुक्त गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ।

पार्टीका सप्तरी जिल्ला अन्तर्गतका केन्द्रीय कमिटी सदस्यहरूको बिहीबार राजविराजमा बसेको बैठकले एक गाउँपालिका उपाध्यक्षसहित १० जना जनप्रतिनिधिलाई पदमुक्त गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष राजोदेवी यादव, सोही गाउँपालिकाको वडा नं १ का वडाध्यक्ष ललन यादव र वडा नं। ६ का वडाध्यक्ष कपलेश्वर साहलाई पदमुक्त गर्न सिफारिस गरिएको छ।

त्यसैगरी, राजविराज नगरपालिका वडा नं। ७, ८ र १० का वडाध्यक्ष क्रमशः सुभाषचन्द्र यादव, जयनारायण मण्डल र गंगाराम खंग, विष्णुपुर गाउँपालिका–१ का वडाध्यक्ष बलराम यादव, रुपनी गाउँपालिका–२ का वडाध्यक्ष सरोज यादव, तिलाठी कोइलाडी गाउँपालिका–४ का वडाध्यक्ष मुनिलाल मुखिया तथा सुरुङ्गा नगरपालिका–१ का वडाध्यक्ष छत्रबहादुर राउतलाई पनि पदमुक्त गर्न सिफारिस गरिएको पार्टीका केन्द्रीय सदस्य सूर्यनाथ यादवले जानकारी दिए।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीको चुनाव चिह्नबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरू पार्टी र पार्टीका उम्मेदवारविरुद्ध लागेको पुष्टि भएकाले प्रचलित कानुनअनुसार पदमुक्त गर्न निर्वाचन आयोगमा कारबाही प्रक्रिया अगाडि बढाउन केन्द्रलाई सिफारिस गरिएको अर्का केन्द्रीय सदस्य गोविन्द न्यौपानेले बताए।

पार्टीका मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादव, सहइन्चार्ज विश्वनाथ साह तथा सहसंयोजक सुधीर साहको उपस्थितिमा बसेको बैठकले जिल्लाका १८ वटै स्थानीय तहमा असार १० गतेभित्र संगठनात्मक समायोजन प्रक्रिया टुंग्याउने निर्णय गरेको छ।

‘एक पालिका, एक केन्द्रीय सदस्य’ अवधारणाअनुसार जिल्लाका पालिकाहरूमा केन्द्रीय सदस्यहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिएको केन्द्रीय सदस्य सूर्यनाथ यादवले जानकारी दिए।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्