सहमति नजिक पुग्यो कांग्रेसको क्रियाशील सदस्यता विवाद


 


काठमाडौं, साउन ४
नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादसहमति नजिक पुगेको नेताहरुले बताएका छन् । बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यताको विवाद सुल्झाउने जिम्मा पाएका नेताहरुको भनाइ छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई जिम्मा दिएको थियो । सदस्यतामा सहमति जुटाएर शनिबारसम्म सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी रहेको कार्यदलका एक सदस्यले बताए । ‘अब ढिलो हुँदैन, सकेसम्म शुक्रबार नै सहमति जुटाएर सभापतिलाई बुझाउँछौं,’ ती सदस्यले भने, ‘हामी सदस्यता विवाद टुंग्याउन अन्तिम चरणमा पुगेका छौं ।’

बिहीबार दिनभर काठमाडौंको एक रिसोर्टमा बसेको कार्यदलले सदस्यता विवाद सुल्झाउन मापदण्डमा सहमति जुटाएको थियो । कार्यदलमा रहेका नेताहरुले बिहीबार साँझ नै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई भेटेर मापदण्डका बारेमा जानकारी गराएका छन् ।

क्रियाशील सदस्यता छानविन समिति सदस्य रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले समायोजनका बारेमा कसरी जाने भन्नेमा कार्यदलमा समझदारी भएको बताए । ‘समायोजनको हकमा नीतिगत विषयमा टुंगो लागेको छ, नयाँ मापदण्ड बनाइएको छ । त्यसलाई कार्यान्वयन गर्नेबारे समझदारी भएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘अब छिट्टै कार्यदल टुंगोमा पुग्छ ।’

नेता पौडेलका अनुसार कार्यदलमा क्रियाशील सदस्यताको पुरानो संख्याभन्दा कम हुने गरी वडा तहमा समायोजनलाई मान्ने समझदारी भएको छ । कतिपय वडामा पुरानाभन्दा समायोजनबाट आउनेको संख्या बढी भएको भन्दै विवाद सिर्जना भएको थियो । सदस्यता छानविन समिति सदस्य रहेका पौडेल, आनन्द ढुंगाना र जीवन परियारले कार्यदलमा भएको सहमति कार्यान्वयनको विषयमा सहजीकरण गरिरहेका छन् ।

प्रकाशित मिति: ४ भाद्र २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्