ओली १० बुँदेमा लचक हुने सम्भावना कम


 


काठमाडौं, साउन ७
एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन्। नेपाल पक्षका रहेका तर पार्टी विभाजन गर्न नहुने नेताहरूलाई पार्टी अध्यक्ष ओलीले असार २७ गते गरेको १० बुँदे कार्यान्वयन नगर्ने भएपछि ल्याउन नचाहेका हुन्। ‘ओलीले अक्षरस १० बुँदे कार्यान्वयन गर्ने अवस्था देखिएन, पार्टी मिलाउने कुराका ओलीनै बाधक रहे,’ मध्यमार्गी एक नेताले भने।

एमाले एकताको सम्भावना खोजी गरिरहेका एमाले उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताले एमालेभित्र अझै पनि एकता हुन्छ भनिरहेका बेला ओलीले उनीहरूको माग र अडानमा खासै चासो दिएका छैनन्।

नेपाल पक्षका रहेका तर विभाजनतिर नलागी १० बुँदे कार्यान्वयन गर्नुपर्छ भन्ने नेताहरूलाई ओलीले खासै चासो नदिएपछि उनीहरू नेपालतिरै लाग्ने सम्भावना बढेर गएको छ। पार्टी विभाजनतर्फ उन्मुख भए पनि नेपाल पक्षका नेताहरूले १० बुँदे कार्यान्वयन गर्न जोड दिएका हुन्।

उनीहरू शुक्रबार राजधानीको एक पार्टी प्यालेसमा सांसद र केन्द्रीय समितिमा रहेका ५७ जना नेतासँग पनि थप छलफल गरेर ओलीलाई १० बुँदे सहमति अक्षरस पालना गर्न र नेपाललाई पार्टी दर्ता गर्नबाट पछि हट्न आग्रह गरेका थिए। ‘मंगलबारभित्र १० बुँदे सहमतिको अक्षरस पालना गर्न समयसीमा दिइएको हो, तर ओलीले विभाजनमै जोड दिएजस्तो लाग्छ। उनले सहमति गर्ने चासो दिएका छैनन्,’ मध्यमार्गीको भूमिका निर्वाह गरेका एक नेताले भने।

आइतबार साँझ मध्यमार्गी नेताहरूको बैठकले पनि मंगलबारसम्म १० बुँदे कार्यान्वयन गर्न आग्रह गरेका छन्। नेपालको साथ छाडेर एमालेमै रहेका १० जना नेताहरूको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको थियो। उनीहरूले ओली पक्षका नेताहरूसँग कुराकानी गरिरहेको भए पनि कुनै पनि प्रगति नभएको स्रोतको दाबी छ।

ओली पक्षका नेताहरूले अक्षरस कार्यान्वयन गर्ने भने पनि उनीहरूले त्यसको ग्यारेन्टी खोजिरहेका छन्। ‘ओलीले २०७५ जेठ २ गते अघिको सबै कमिटी ब्युताउँन आनाकानी मात्रै गरेका होइनन्। उनले नब्युँताउने जानकारी दिएका छन्,’ मध्यमार्गी तीन नेताले भने माथिको पदाधिकारी ब्युँताउने तल चाहिँ जस्ताको तस्तै राख्ने भएपछि ओलीको नियत प्रष्ट भएको छ।’

मध्यमार्गी नेताहरूले १० बुँदे सहमतिको अक्षरस पालना गर्नुपर्छ भन्नुको कारण २०७५ जेठ २ अगाडिको एमालेको संरचना गाउँदेखि केन्द्रसम्म ब्युँताउनु हो, तर ओलीले त्यसो गर्न चाहेका छैनन्। पदाधिकारी ब्युँताएर ओलीले चलाखी गरे जुन विषय प्राथमिकतामा होइन,’ ती नेताको भनाइ छ। १० बुँदे सहमति गर्ने बेलाको मान्युटमा केन्द्रदेखि गाउँसम्मकै सबै कमिटी ब्युँताइने सहमति भएको थियो। सोही सहमतिलाई कार्यान्वयन गर्नुपर्ने उनीहरूको भनाइ हो। ‘सबै कमिटी ब्युँताउने सहमति भएको छ।

त्यहीअनुसारको माग हो, अन्यथा केही होइन, ओलीले सबै कमिटी ब्युँताउन तयार नभए वा १० बुँदे कार्यान्वयन नभए उहाँ नै पार्टी विभाजन गर्न लाग्नुभएको छ भन्ने प्रष्ट हुन्छ,’ मध्यमार्गी धारमा रहेका नेता ठाकुर गैरेले भने। अहिले पनि कुराकानी भइरहेकाले १० बुँदे कार्यान्वयन हुनेमा आफूहरू ढुक्क रहेको पनि उनले बताए।

पार्टी अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेका माधव नेपालसहितले बुधबार नयाँ दल दर्ता प्रक्रिया सुरु गरेपछि मध्यमार्गीका रूपमा ५७ नेता बाहिर बसेका थिए। एमालेको नवौं महाधिवेशनदेखि नेपाललाई साथ दिँदै आएका प्रभावशाली नेताले नयाँ दल दर्ता प्रक्रियामा भने अन्तिममा आएर नेपालको साथ नदिई एकताका लागि दबाब अभियान सुरु गरेपछि नेपाल पक्षमा दल दर्ताका लागि तयार भएका नेताहरूले पनि उनीहरूलाई ढुलमुले नेताको सज्ञा दिइसकेका छन्। बिहीबार, शुक्रबार, शनिबार राजधानीमा भेला गर्दै पार्टी एकताका लागि दबाब बढाए पनि ओलीले उनीहरूसँग कुराकानी गर्न पनि चाहेका छैनन्।

‘तत्काल २०७५ जेठ २ गतेअघिको स्थायी कमिटीको बैठक बोलाएर १० बुँदे समझदारी अनुमोदनपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्य थप गरेर अर्को बैठक बोलाउनुपर्छ,’ ती नेताले भने। अध्यक्ष ओलीले दुई दिनभित्र १० बुँदे समझदारी कार्यान्वयन गर्ने सम्भावना कम रहेको उनीहरूको बुझाइ छ। त्यसमा पनि २०७५ जेठ २ गतेअघिको स्थायी कमिटी बैठक बोलाएर उनीहरूले भनेजस्तो पार्टी एकता जोगाउन अध्यक्ष ओली लचिलो नबने असन्तुष्टभित्रका पनि असन्तुष्ट नेताहरू थप दबाबमा पर्ने एक नेताको बुझाइ छ। ‘दुवै नेताहरू (ओली र नेपाल) ले आ–आफ्नो बाटो समाइसक्नुभयो,’ बैठकमा सहभागी ती नेताले भने, ‘दुवै आआफ्नो अडानमा अडिए पार्टी एकताको पक्षमा कहिलेसम्म बस्ने, हाम्रा लागि पनि चुनौती छ।’

अध्यक्ष ओलीले १० बुँदे समझदारीको जगमा नेता नेपाल र नयाँ पार्टी दर्ता प्रक्रियामा सहभागी नभएका नेताहरू सबैलाई एमालेमै रहनका लागि एकपटक ढोका खोल्नुपर्छ भन्ने आफूहरूको बुझाइ रहेको ती नेताले बताए। तर, अध्यक्ष ओली त्यति लचकताका साथ प्रस्तुत हुने सम्भावना नरहेको विश्लेषण सुनाउँदै ती नेताले भने, ‘हामीलाई फेस सेभिङका लागि अध्यक्ष ओलीले कुनै पनि बाटो दिनुभएन भने त्यो पार्टीमा बस्नुको कुनै अर्थ हुँदैन।’ पार्टी एकताको पक्षमा उभिएका नेताहरूले पनि त्यसपछि नेता नेपाललाई साथ दिनुपर्ने वा अर्को विकल्प खोज्नुपर्ने अवस्था आउने पनि उनले बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति: ७ भाद्र २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्