पत्रकारलाई स्वास्थ्य उपचारमा  छुट दिने प्रक्रिया अघि बढ्दै


 


patrakarकाठमाडौं, कात्तिक १९

श्रमजीवि पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा सरकारले गरेका छन् ।

उक्त व्यवस्थाको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ । स्वास्थ्य मन्त्रालयले अर्थ र सञ्चार मन्त्रालयका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला सङ्घ-संस्था तथा व्यक्तिको सहभागितामा समिति गठन गर्ने गृहकार्य सुरु गरिएको स्वास्थ्यमन्त्री गगनकुमार थापाका निजी सचिव शालिग्राम दाहालले जानकारी दिए ।

त्यसैगरी मन्त्रालयले ल्याउन लागेको स्वास्थ्य बिमा कार्याक्रममा पनि पत्रकारलाई कसरी लाभान्बित गर्न सकिन्छ भन्नेबारे समेत छलफल भइरहेको र त्यसबारे पत्रकार महासङ्घले पनि चासो देखाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बजेट पारित भएसँगै पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयन हुनुपर्नेमा अहिलेसम्म त्यो कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्