राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता


 


काठमाडौँ, १९ कात्तिक

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । राष्ट्रपति मुखर्जी भारतीय वायुसेनाको विशेष विमानबाट आज अपराह्न ५ः३५ बजे स्वदेश फर्किएका हुन् । उनलार्इ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरिन् ।

राष्ट्रपति मुखर्जीका सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, राजदूतलगायत उच्च सरकारी अधिकारी उपस्थित थिए ।

अठार वर्षपछि भारतका राष्ट्रपतिको नेपाल भ्रमण भएको हो । राष्ट्रपति मुखर्जी यही कात्तिक १७ गते नेपाल आउनुभएको थियो । नेपाल भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले उच्चस्तरीय भेटघाट गर्नाका साथै उहाँलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो ।

भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय कार्यक्रममा उपस्थित भएका राष्ट्रपति मुखर्जीले काठमाडौँको पशुपतिनाथ र जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजा गरेका थिए । स्वदेश प्रस्थान गर्नुअघि आज उहाँले पोखरा भ्रमण गरी त्यहाँ आयोजित भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गरेका थिए । रासस

प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्