भारतमा अग्निपथ योजनाको विरोध हिंसात्मक बन्दै, नौ रेलमा आगजनी


 


एजेन्सी, असार ४
भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध हिंसात्मक बन्दै गएको छ । आन्दोलन सुरु भएको तेस्रो दिन आज शुक्रवार पनि युवाहरूले विभिन्न राज्यमा प्रदर्शन गरेका छन् ।

आज बिहारमा नौ वटा रेलमा आगजनी भएको र रेलमा आगो लगाउँदा बिहारको लखीसरायमा एक जना यात्रुको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर प्रदेशमा पनि हिंसात्मक प्रदर्शन भएको छ । हरियाणा, राजस्थान, उत्तराखण्ड, हिमाचाल प्रदेशलगायत ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले गएको मङ्गलवार भारतीय सेनामा भर्नाका लागि ‘अग्निपथ’ नामक योजनाको घोषणा गरेपछि युवाहरूले विरोध सुरु गरेका हुन् । अग्निपथ योजनामा भारत सरकारले आफ्नो तीन वटै सैन्य अङ्गस् जल, स्थल र वायु सेनाको जवान पदमा अब चार वर्ष नोकरी अवधिका लागि मात्रै भर्ना खुलाउने छ ।

प्रकाशित मिति: ४ असार २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्