विपी राजमार्ग बस दुर्घटनाः मृतक सबैको पहिचान खुल्यो



बनेपा। विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन विष्टका अनुसार शुक्रबार भएको दुर्घटनामा ज्यान गुमाउने सबै मृतकको पहिचान भएको हो।

मृतकहरूमा रोसी गाउँपालिका–६ का ७३ वर्षीय मेघबहादुर तामाङ, रोसी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, रोसी गाउँपालिका–६ का ७५ वर्षीय तथा बसधनी इन्द्रबहादुर तामाङ, रोसी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङ तथा दैलेख घर भई हाल भकुण्डेस्थित त्रिनेत्र दल गणमा कार्यरत अमलदार ३० वर्षीय बमबहादुर भण्डारी रहनुभएको छ ।

त्यस्तै, सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ की २२ वर्षीया सुमी तामाङ, रोसी गाउँपालिका–६ का ५५ वर्षीय राजु तामाङ र रोसी गाउँपालिका–७ की ६० वर्षीया माया तामाङको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो करिब २ः१५ बजे बनेपाबाट रोसी गाउँपालिका–६, सुँगुरेतर्फ जाँदै गरेको पूर्व अरनिको यातायातको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा बसमा सवार १६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्