म्याराडोनाको उपचारमा संलग्न ८ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने


 


एजेन्सी, असार ९
महान् फुटबलर डिएगो म्याराडोनाको मृत्युमा ‘आपराधिक लापरबाही’ गरेको भन्दै आठजना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ । मेडिकल प्यानलले म्याराडोनाको उपचारमा ‘कमजोरी र अनियमितता’ भएको पाएपछि त्यहाँका एक न्यायाधीशले हत्याको मुद्दामा सुनुवाइ गर्न आदेश दिएका हुन् ।

म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयघातबाट मृत्यु भएको थियो । उनले एक महिनाअघि मस्तिष्कमा रगत जमेको शल्यक्रिया गराएका थिए ।

उनको मृत्युको केही दिनपछि नै अर्जेन्टिनाका अभियोजकहरुले उनको उपचारको संलग्न डाक्टर तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए । म्याराडोनाको मृत्युबारे अध्ययन गर्न बनाइएको २० जना विज्ञहरूको प्यानलले उनको मेडिकल टिमले ‘अनुपयुक्त, कमजोर र लापरवाह तरिका’ ले काम गरेको ठहर गरेको थियो ।

मुद्दा खेप्नेमा म्याराडोनाका न्युरोसर्जन र व्यक्तिगत डाक्टर लियोपोल्डो लुके, एकजना साइकियाट्रिस्ट, दुई डाक्टर, दुई नर्स र उनीहरूको मालिकलगायत रहेका छन् । सबैले उक्त आरोपको खण्डन गरेका छन् । अभियोग पुष्टि भए उनीहरूलाई ८ देखि २५ वर्षसम्म जेल सजायको व्यवस्था रहेको छ ।

प्रकाशित मिति: ९ असार २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्