नेपाली सेनाले धरहरा निर्माणका लागि दियाे छ कराेड


 


काठमाडौँ, कार्तिक २२

प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रको गौरवका रुपमा रहने धरहरा निर्माणका लागि नेपाली सेनाले करिब रु छ करोड १७ लाख १३ हजार ७८३ को चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले धरहरा निर्माणका लागि सकल दर्जाको तर्फबाट सङ्कलन गरिएको उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

विसं २०७२ वैशाख १२ गते शनिबार गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पबाट काठमाडौँको मध्यभागमा रहेको नौ तले धरहरा भत्किएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले राष्ट्रको गौरवका रुपमा रहेको ऐतिहासिक धरहरा निर्माणमा सबै मुलुकवासीको सहभागिता रहोस् भनी ‘मेरो धरहरा म आफैँ बनाउँछु’ भन्ने नारा दिई निर्माणमा सहयोग गर्न आह्वान गरेको थियो ।

सो आह्वानअनुरुप हालसम्म धरहरा निर्माणका लागि सहयोगस्वरुप रु तीन करोड रकम जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । नेपाली सेनाले प्रदान गरेको रकम अहिले सङ्कलन भएको रकमभन्दा दोब्बर बढी रहेको छ ।

राजधानी घुम्न आउने स्वदेशी तथा विदेशीका लागि आकर्षणको केन्द्रका रुपमा रहँदै आएको धरहरालाई पुरानो पहिचान खुल्ने गरी आधुनिक ढङ्गबाट निर्माण गरिने धरहरा ११ तलाको हुनेछ ।

हालको टक्सार विभाग र गोश्वारा हुलाकको जग्गालाई समेटेर ४२ रोपनी जग्गामा धरहरा निर्माण गर्ने निर्णय सरकारबाट भइसकेको छ । २४५ फिट अग्लो हुने भनिएको धरहरा निर्माण थालनी भएको तीन वर्षमा पूरा हुनेछ ।

धरहरा निर्माणका लागि पुरातत्व विभागको अगुवाइमा काम अघि बढिरहेको छ । आठ रिक्टर स्केलको भूकम्प थेग्ने उक्त धरहरा निर्माणका लागि करिब रु तीन अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

 

प्रकाशित मिति: २२ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्