सरकार अशोभनीय काम गर्देछ : ओली


 


धनगढी, कार्तिक २३

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कूटनीतिक पक्ष, वैदेशिक एवम छिमेकी सम्बन्धका विषयमा सरकारी पक्षबाट अत्यन्त असावधानी र अशोभनीय क्रियाकलाप भइरहेको टिप्पणी गरेका छन् । प्रेस चौतरी नेपालले धनगढी विमानस्थलमा आज गरेको पत्रकारसम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले छिमेकीसँगको सम्बन्धको महत्व र सन्तुलन बुझ्नुपर्नेमा जोड दिँदै परराष्ट्र सम्बन्धका विषयमा भइरहेका राष्ट्रिय नीति विपरीतका काममा नेकपा (एमाले) सहमत छैन भने ।

संविधान कार्यान्वयन गर्नुपर्नेमा एमालेको जोड रहेको भए पनि यसतर्फ सरकारले काम नगरेको बताउँदै उनले देश, जनता र विकासका पक्षमा संविधान संशोधन हुने भए एमालेले साथ दिने बताए । उनले भने  “कसैको स्वार्थ र आग्रहमा संविधान संशोधन हुँदैन ।” राष्ट्रिय एकता खल्बल्याउने, अग्रगमन र विकासका कामलाई असफल पार्ने कामका विरुद्धमा एमाले लाग्ने अध्यक्ष ओलीले बताए।

वर्तमान सरकार गठन भएकै बेलादेखि सरकारका कामकारबाही अनुचित ढङ्गले भइरहेको उहाँको आरोप थियो । पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख विरुद्धको महाअभियोग प्रस्ताव अहिले प्रक्रियामा रहेको र यो पारित हुने बताए।

नेकपा (एमाले)को बुधबार हुने सात नं प्रदेशस्तरीय भेलामा सहभागी हुन अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपालसहित आज यहाँ अाइपुगेका छन् ।

प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्