अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान सुरु


 


hilari-and-donald-trumpकाठमाण्डौ, कार्तिक २३

विश्व शक्ति राष्ट्र अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान सुरु भएको छ ।

४५औं राष्ट्रपति चुन्नका लागि अमेरिकी जनता मतदानमा सहभागी भइरहेका हुन् ।

पूर्वी राज्यहरुबाट मतदान सुरु भएको हो भने पश्चिमी राज्यहरुमा केही समयपछि मतदान सुरु हुनेछ ।

राष्ट्रपति पदको यस महासंग्राममा चारजना उम्मेदवार मैदानमा भएपनि मुख्यतः रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनबीच नै प्रतिस्पर्धा रहेको छ ।

यस निर्वाचनमा ५० ओटा राज्य र वासिंगटन डीसीका गरी कुल १२ करोड अमेरिकी मतदाता सहभागी हुने अनुमान गरिएको छ । यद्यपि, ३३ ओटा राज्य र डीसीमा ४ करोड मतदाताले यसअघि नै मत दिइसकेका छन् ।

राष्ट्रपति निर्वाचित हुनका लागि भने ५ सय ३८ इलेक्ट्रोरल कलेज मतमध्ये २ सय ७० ल्याउनै पर्दछ । प्रतिनिधिसभा र सिनेटमा चुनिने प्रतिनिधिको आधारम इलेक्ट्रोरल कलेज मत राज्यअनुसार फरक–फरक हुने गर्दछ ।

दुबै उम्मेदवारले मतदान सुरु हुनुअघिसम्मका चुनावी र्‍यालीहरुलाई आफ्नो पक्षमा पार्ने कोसिस गरेका थिए । दुबै उम्मेदवार अहिले भने गृहराज्य न्यूयोर्क फर्किसकेका छन् ।

लोकप्रिय मतको सर्वेक्षणहरुमा हिलारी क्लिन्टन डोनाल्ड ट्रम्पभन्दा करिब चार प्रतिशतले अघि रहेको देखाइएको छ ।

ट्रम्पलाई निर्वाचन आफ्नो पक्षमा पार्न चार वर्षअघि मीट रोमनीले जित निकालेको नर्थ क्यारोलिना र एरिजोना राज्यमा जित्नैपर्ने अवस्था छ भने अमेरिकी राष्ट्रपति बाराक ओबामाले जितेको फ्लोरिडा, ओहायो र लोवाको परिणाम उल्टाउनुपर्ने अवस्था रहेको बताइन्छ ।

यसैगरी, क्लिन्टनलाई जित निकाल्न महिला, कलेज उमेर समूहका मतदाता र ल्याटिन अमेरिकीमूलका भोटरलाई आफ्नो पक्षमा पार्नुपर्नेछ ।

सधैंझैं योपटक पनि आर्थिक मुद्दा निर्वाचनको प्रमुख एजेन्डा बनेको छ । क्लिन्टनले दुई प्रतिशत धनाढ्य वर्गको करबृद्धिको प्रस्ताव गरेकी छन् भने ट्रम्पले हाल विद्यमान ३५ प्रतिशतको कर्पोरेट कर १५ प्रतिशतमा झार्ने नीति लिएका छन् ।

नेपाली समयअनुसार बुधबार विहान १० बजेसम्ममा मतपरिणाम आउन सुरु हुने जनाइएको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्