नयाँदिल्लीको होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
नयाँदिल्ली, २० जेठ । भारतको राजधानी नयाँदिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन्। प्रहरीले यसलाई पछिल्लो एक वर्षयता राजधानीमा भएको सबैभन्दा घातक आगलागीको घटना भएको जनाएको छ।
दिल्लीको दक्षिणी क्षेत्रमा रहेको भिडभाडयुक्त बस्तीमा अवस्थित ‘फ्लोरिस स्टे’ नामक बेड–एन्ड–ब्रेकफास्ट होटलमा बुधबार बिहान आगलागी भएको हो। आगो तीव्र रूपमा फैलिएपछि भवनभित्र रहेका पाहुना र कर्मचारी फसेका थिए।
प्रहरीका अनुसार घाइते ४० भन्दा बढी व्यक्तिलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको छ। घटनास्थलमा आठ वटा दमकल परिचालन गरी लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो।
अधिकारीहरूले २१ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। प्रहरी तथा आपतकालीन सेवाका टोली घटनास्थलमा तैनाथ रही थप खोजी तथा उद्धार कार्यमा जुटेका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये अधिकांश अफ्रिकी मुलुकका नागरिक रहेको अनुमान गरिएको छ। उनीहरू उपचार तथा अन्य प्रयोजनका लागि दिल्ली आएका थिए। यद्यपि मृतकहरूको आधिकारिक विवरण भने सार्वजनिक गरिएको छैन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा शोक सन्देश व्यक्त गरिएको छ।
आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। भारतमा यस्ता घटनाका प्रमुख कारणमध्ये विद्युत् सर्ट सर्किट, पुरानो तथा कमजोर तारजडान र सुरक्षा मापदण्डको बेवास्ता हुने गरेको बताइन्छ।
भारतमा भवनमा आगलागीका घटना बारम्बार हुने गरेका छन्। यसअघि मार्चमा पूर्वी भारतको एक सरकारी अस्पतालमा भएको आगलागीमा कम्तीमा १० जना गम्भीर बिरामीको मृत्यु भएको थियो। पछिल्लो घटनाले होटल तथा आवासीय भवनमा सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको विषयलाई पुनः उजागर गरेको छ।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार







