Deshko News
११ आश्विन २०८०, बिहिबार

संजय साहलाई उच्च अदालतद्वारा जन्मकैदको सजाय



जनकपुरधाम, असाेज ६
सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुद्दामा उच्च अदालत जनकपुरधामले संजय साह टकलालाई जन्मकैदको फैसला सुनाएको छ ।

बुधबार उच्च अदालत जनकपुरधामले साह सञ्चार उद्यमी सिंघानिया हत्याका मुख्य योजनाकार रहेको ठहर गर्दै पछिल्लो पटक जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्दै जन्मकैद सजायको फैसला गरेको हाे ।

उच्च अदालतको इजलास नं. ३ मा आठ दिनसम्म चलेको बहस सुनुवाइपछि न्यायाधीशद्वय डालकुमार खड्का र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई उचित रहेको भन्दै त्यसलाई उल्टाउने नदेखिएको भनी सदर गरिएको रजिष्ट्रार खडगराज अधिकारीले जानकारी दिएका छन् ।

सो मुद्दामा नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालयका सह न्यायाधिवक्ता यदुनाथ शर्मा र शाखा अधिकृत राजलाल यादवले बहस गरेका थिए भने जाहेर वालाको तर्फबाट अधिवक्ता विपीनकुमार झा र हेमबहादुर कार्कीले बहस गरेको उनले बताए ।

त्यस्तै प्रतिवादी संजय साहको तर्फबाट वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्र, वरिष्ठ अधिवक्ता धर्मेन्द्र शर्मा, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, अधिवक्ता प्रकाशकुमार घिमिरे, ओम प्रकाश सिंह र दिपेन्द्र सिंहसहित ६ जना अधिवक्ताले बहस गरेका थिए ।

जनकपुरधाम स्थित जनकपुर टुडे पत्रिकाका सञ्चालक सञ्चार उद्यमी सिंघानियाको ०६६ साल फागुन १७ गते होलीको दिन गोली हानेर हत्या भएको थियो । सो मुद्दामा २०७६ साल असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलामा असन्तुष्टि जनाउँदै साहले ०७६ असोज ७ गते उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेको थियो । साह अहिले रामानन्द चोकमा भएको बम विस्फोट घटनाको आरोपमा नख्खु कारागारमा कैद भुक्तानी गरिरहेका छन् ।

सो घटना निलम्बित सभासद साहसहित जिल्ला प्रहरी कार्यालय धनुषाले १२ जनाविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरेको थियो । जिप्रका धनुषाले साहसहित चन्द्रदीप यादव, एकलाल सहनी, ओमप्रकाश यादव, मुकेश चौधरी, रामकरण, अंशी राइन, रामविनोद यादव, दीपेन्द्र कुसियत यादव, पवन लामा, मनक लामा तथा हुलिया खुलेको तर नाम वतन नखुलेको एकजनाविरुद्ध मुद्दा दायर गरेको थियो । आरोपीहरू मध्येका सुटर मनक लामा चन्द्रदीप, ओमप्रकाश, मुकेश, रामकरण, एकलाल तथा अंशी प्रहरी अहिले कारागारमा छन् ।

प्रकाशित मिति: ६ आश्विन २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News