सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज


 


बाँके, असाेज १३
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज हुने बताएका छन् ।

नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको प्रशिक्षणमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य हुँ भन्न नपाउने बताएका हुन् ।

प्रतिनिधि सभाको म्याद सकिँदा समेत सभामुखजस्तो गरिमामय पद ओगटेर विवादमा मुछिएका अग्निप्रसाद सापकोटाप्रति लक्षित गर्दै प्रमुख निर्वाचन अधिकृत थपलियाले भने, ‘कसैले पनि कात्तिक २४ गतेदेखि प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य हुँ र उम्मेदवार पनि हुँ भन्न पाउँदैनन् । त्यतिबेला सार्वजनिक र उम्मेदवारी दुवैतिरको पद खारेज हुन्छ ।’

आयोगले निर्वाचन आचार संहिता लागु गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचार संहिता पालना भए नभएको अनुगमन गर्न विशेष अनुगमन टोली नै गठन गर्ने बताए । नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति: १३ आश्विन २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्