उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङले दिए सर्वोच्चमा रिट


 


काठमाडौं, असाेज २८
रुपन्देही-२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका गुरुङले बिहीबार उम्मेदवारी खारेजीको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदवीर नेपालीले खारेज गरिदिएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

आफूविरुद्ध निर्वाचनको अधिकृतको कार्यालयमा कुनै उजुरी वा दावी बिरोध नपरेको र कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू सेयर सदस्य रहेको कम्पनी मात्रै परेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग लिएर उनी सर्वोच्च पुगेका हुन् ।

उक्त रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको छ । रिटमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् ।

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्