समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने


 


काठमाडौं, मंसिर २०
प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने भएको छ । मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुग्दा १२ लाख ८२ हजारभन्दा बढी मत खेर जाने देखिएको हो ।

दोलखा र बाजुराबाहेक प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना सक्दा कुल सदर मतको ३ प्रतिशत ल्याएका दलको मत मात्र समानुपातिकतर्फको सिट बाँडफाँटमा समेटिनेछ। तर ३ प्रतिशतभन्दा कम मत ल्याउने दलका लागि सिट बाँडफाँट हुँदैन ।

त्यसकारण ती दलहरूको मत खेर जाने भएको हो। प्रतिनिधिसभाको चुनावका लागि देशभरिबाट समानुपातिकमा करिब १ करोड ११ लाख मत खसेको निर्वाचन आयोगको अनुमानित तथ्यांक छ। आयोगले हालसम्म यकिन तथ्यांक सार्वजनिक गरिसकेको छैन। समानुपातिकतर्फ खसेको मत मध्ये करिब ६ लाख मत बदर हुने देखिएको छ।

निर्वाचन आयोगको सोमबार बेलुकीसम्मको तथ्यांकअनुसार समानुपातिकतर्फ १ करोड ४ लाख ३० हजार बढी मत सदर भएको छ।

जसमध्ये ४० वटा राजनीतिक दलले प्राप्त गरेको मतको कुनै अर्थ नहुने भएको छ। देशभरिबाट ११० वटा सिटका लागि मतदाताले विभिन्न राजनीतिक दललाई मत दिएका थिए।

मतदाताले सातवटा दलबाहेककालाई दिएको मत खेर गएको हो। हालसम्म सातवटा राजनीतिक दल मात्रै सदर मतको ३ प्रतिशत प्राप्त गर्न सफल भएका छन्। नागरिक दैनिकबाट

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्