कलेजले निष्कासन गरेपछि ललितपुरमा एक किशोरीले त्यागिन् प्राण


 


काठमाडौँ, मंसिर २३
कलेजले निस्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागेकी छन्। अनुशासनको कारबाहीको नाममा मंगलबार स्थानीय एक कलेजले निस्कासन गरेपछि १६ वर्षीया किशोरी सदीक्षा चौधरीले आत्महत्या गरेकी हुन्।

जिल्ला प्रहरी कार्यालयका ललितपुरका प्रहरी उपरीक्षक सूर्य विक्रम शाहीका अनुसार सप्तरी घर भई आफ्ना अभिभावकसँग सानेपामा बस्दै आएकी चौधरी बुधबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उपचारको क्रममा उनको पाटन अस्पतालमा मृत्यु भएको हो।

बुधबार बिहान सदीक्षा आफ्नै डेरामा झुन्डिएको अवस्थामा फेला परेपछि उनलाई अभिभावकले उपचारको लागि पाटन अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले जानकारी दिए।

चौधरी केही समयअघि आफ्ना अभिभावकसँग सप्तरीस्थित घर गएको खुलेको छ। उनी यहि मंसिर ६ गते काठमाडौं फर्किएपछि बुधबार कलेज गएकी थिइन्।

डीएसपी शाहीका अनुसार लामो समयपछि कलेज गएपछि कलेजको अनुशासन विभागका प्रमुखले उनलाई केही सोधपुछ गरेपछि कलेजबाट निष्कासन गरेको पाइएको छ।

कलेजले निष्कासन गरेपछि पीडामा रहेकी किशोरीले अप्रिय कदम चालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। किशोरीलाई निष्कासन गर्ने कलेजको अनुशासन विभागका प्रमुखलाई कलेज प्रशासनले निलम्बन गरेको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्