विष्णु रिजालको आरोप – सत्ताका सदाबहार सौदागर देउवा अपराधी छुटाएर सरकार बनाउन लागेँ


 


काठमाडौं, मंसिर २६
नेकपा एमालेका नेता तथा केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लागेको आरोप लगाएका छन् ।

नेता रिजालले सोमबार बिहान ट्वीटमार्फत माओवादीबिनै बहुमत पुर्‍याउने गरी प्रचण्डलाई दवावमा राख्न रेशम चौधरीलाई रिहाइ गरेर तीरले दुई शिकार गर्न खोजेको आरोप लगाएका हुन् ।

उनले जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका पालामा आफ्नै बलमा पार्टी फुटाएर र अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर जे गरेर भए पनि सत्तामा पुग्ने विशेषज्ञता हासिल गरेका ‘सत्ताका सदाबहार सौदागर’ देउवा यसपटक जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लागेको बताए ।

‘जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर– जे गरेर भए पनि सत्तामा पुग्ने विशेषज्ञता हासिल गर्नुभएका ‘सत्ताका सदाबहार सौदागर’ शेरबहादुर देउवा यसपटक जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लाग्नुभएको छ,’ उनले ट्वीटरमा उल्लेख गरेका छन्, ‘माओवादीबिनै बहुमत पुर्याउने गरी प्रचण्डलाई दवावमा राख्न रेशम चौधरीलाई रिहाइ गरेर एक तीरले दुई शिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको यसभन्दा शर्मनाक कुरा अरु के हुन्छ र ?’

सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो।

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि प्रतिपक्ष मात्र नभइ सत्तारुढ दलभित्रैबाट पनि विरोध भएको छ ।

अहिले नागरिक उन्मुक्ति, जनमत पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता विभिन्न मुद्दामा कारागारमा छन् । हालैको निर्वाचनमा सत्तारूढ दलको स्पष्ट बहुमत आउन नसकेपछि ती दलका नेताहरूले चौधरीलाई मुक्त गरी उनको पार्टी नागरिक उन्मुक्तिको सहयोग लिनेगरी गृहकार्य थालेको हो ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्