वैद्य माओवादीले देशव्यापी विरोध प्रदर्शन गर्ने


 


Mohan-Baidyaकाठमाण्डौ , कार्तिक २६

नेकपा क्रान्तिकारी माओवादीले राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका विषयलाई लिएर यही मंसिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

माओवादीको कात्तिक २४ र २५ गते बसेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न घटकमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टलाई एकताबद्ध तुल्याउन, नयाँ ढंगले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्न र ध्रुवीकरणको प्रक्रियालाई गति दिन आवश्यक पहल गर्ने निर्णय गरेको अध्यक्ष मोहन वैद्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

माओवादीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलका मान्यता तथा मापदन्डविरुद्ध कतिपय गम्भीर प्रकृतिका गतिविधि हुँदै आएकामा आफ्नो पार्टीको विशेष ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘एक–अर्काे मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र आन्तरिक मामिलामा हस्तक्षेपको मान्यता र एक चीन नीतिप्रति पार्टी दृढ रहेको कुरा पुनःसार्वजनिक गरिएको छ ।’

माओवादीले संघीय जनगणतान्त्रिक संविधान निर्माणका लागि जनआन्दोलनलाई नयाँ ढंगले संगठित गर्ने र उक्त विषयसित सहमत हुने राजनीतिक शक्तिसित कार्यगत एकता गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्