आजदेखि पानी पर्ने सम्भावना, पश्चिमी निम्‍न चापीय प्रणाली नेपाल प्रवेश गर्दै


 


काठमाडौं, माघ ९
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझबाट सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ।​ हाल देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसोसम्म पनि मौसम सफा रहनेछ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यता मौसमविद् विनोद पोखरेलले ​भने सोमबार रातिदेखि पानी पर्ने सम्भावना रहेको बताए । पश्चिम नेपालबाट वर्षा सुरु भएर बिहीबारसम्म काठमाडौँ लगायतका क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ । हिमाली भेगमा भने मंगलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् पोखरेलले जानकारी दिए ।

यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । विभागको तथ्यांकअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो । सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो ।

तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

अघिल्लो हिउँद अर्थात् सन् २०२१ को डिसेम्बर १ देखि २०२२ को जनवरी १८ सम्ममा २७ दशमलव एक मिलिमिटर पानी परेको थियो ।

नेपालमा मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिएको र यसवर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकाले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार हिउँदमा पानी कम पर्दा सुख्खा बढेको तथा यसको असर हिउँदे बालीमा प्रत्यक्ष देखिनुका साथै बहुआयामिक असर पर्नेछ ।

हिउँदमा पानी कम पर्दा पानीका मुहानहरू सुक्ने वा मुहानबाट कम पानी आउने, वायु प्रदूषण बढ्ने, डढेलोको जोखिम बढ्नेलगायतका समस्या आउनसक्ने जलवायु क्षेत्रका जानकारहरूले बताएका छन् ।

प्रकाशित मिति: ९ माघ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्