अब उडानमै इन्टरनेट चलाउन पाइने


 


काठमाडौं, माघ २६
नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो । यससँगै उडानकै क्रममा यात्रुले मोबाइल तथा इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन् ।

निर्देशिकाले उडानका क्रममा यस्तो सेवा प्रदान गर्न चाहनेलाई सेवाप्रदायकको अनुमति दिने व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार अनुमति प्राप्त सेवाप्रदायकले नेपालको आकाशमा उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन चाहने स्वदेशी तथा विदेशी हवाई सेवाप्रदायकलाई त्यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् ।

अनुमति प्राप्त सेवा प्रदायकले त्यस्तो सुविधा नेपाली आकाशमा उडान भरिरहेको अवस्थामा मात्र उपलब्ध गराउन सक्ने निर्देशिकाले प्रस्ट पारेको छ ।

अन्य देशको हकमा भने सम्बन्धित देशको नियमानुसार नै गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकाअनुसार १० हजार फिटमाथि उडान गरिरहेको र अवरोध नहुने अवस्थामा मात्र त्यस्तो सञ्चार सेवा उपलब्ध गराउन पाइनेछ । त्यसभन्दा कम उचाइको उडानमा भने यात्रुका लागि यस्तो सेवा प्रतिबन्ध गरिएको छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: २६ माघ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्