सुजातालाई ५० लाख उपलब्ध गराइएकोमा सांसदहरुको आपत्ति


 


काठमाडौँ, कात्तिक २९
काँग्रेस नेत्री सुजाता कोइरालालाई राज्यकोषबाट सरकारले उपचार खर्चवापत रु ५० उपलब्ध गराइएकोमा सांसदहरुले आपत्ति जनाएका छन् ।

व्यवस्थापिका–संसद्को सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेका सांसद प्रकाश ज्वालाले कार्य्िवधि नै नबनाई आफुखुसी राज्यकोषबाट रकम वितरण गरिएकाले त्यसले जनतामा नराम्रो सन्देश गएको बताए ।

वर्तमान सरकार गठन भएलगत्तै पूर्व राष्ट्रपति डा रामवरण यादवलाई रु ६० लाख र उनका सहयोगीलाई समेत रकम र भत्ता प्रदान गरिएको तर रोल्पाकी एक महिला उपचार खर्चकोे अभावमा उपचार हुन नपाई भैरहवामा निधन हुनु तालमेल नभएको आपत्ति जनाउँदै यदि उपचार खर्च दिनु नै पर्ने भए व्यवस्थित कार्य्िवधि बनाएरमात्रै दिन र आफुखुसी राज्यकोषको रकम नबाँड्न समेत सांसद ज्वालाले सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले उपचारको अभावमा अस्पतालबाट हामफालेर मर्नुपर्ने, रोल्पाकी महिला उपचारको अभावमा मृत्युवरण गर्नुपर्ने तर पूर्वमन्त्रीजस्ता व्यक्तिलाई दबाबका आधारमा राज्यकोषबाट रकम दिने प्रवृत्ति गैरकानुनी र समानताको हकविपरीत रहेको बताईन ।
यस्तै राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले पनि पहुँचका आधारमा राज्यकोषको रकम वितरण गर्ने प्रवृत्ति गलत भएको भन्दै स्वास्थ्यमन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्नेमा जोड दिए ।
स्वास्थमन्त्री गगन थापालेसमेत आफु उपस्थित नभएका मौका छोपेर गरिएको उक्त निर्णयप्रति आपत्ति जनाएका छन् ।

उनले सामाजिक संजाल ट्विटरमार्फत विशिष्ट व्यक्तिलाई उपचार खर्च भनेर दिइने अधिकतम आर्थिक सहयोग रोक्ने आफ्नो प्रयास अहिले असफल र दुर्भाग्यपुर्ण भएको बताएका छन् ।

प्रकाशित मिति: २९ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्