सांसद पाण्डेको निधन


 


pandayकाठमाडौं, कात्तिक २९

नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा आज निधन भएको छ ।

विगत एक वर्षदेखि अर्बुद रोगबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा आज बिहान निधन भएको हो ।

पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि भोली बिहान ९ देखि ११ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ ।

माओवादीभित्र ‘चाचा’ उपनामले चिनिने पाण्डेले माओवादीको सशस्त्र संघर्षको आपूर्ति विभागको पहिले केन्द्रीय सदस्य र पछि इञ्चार्ज भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

युद्धका क्रममा पाण्डेले निकै जोखिम मोलेर भारत र अरु मुलुकबाट पार्टीका लागि स्याटलाइट फोन, हातहतियार, गोलीगट्ठा र अन्य युद्ध सामग्री भित्र्याएका थिए ।

पाण्डे सानैदेखि विद्रोही स्वभावका थिए र त्यही विद्रोही स्वाभावकै कारण उनी १८ वर्षकै उमेरमा २०२९ सालमा अर्घाखाँचीमा भएको चर्चित ‘हरेबर्रे आर्थिक एक्सन’को सैनिक कमान्डर बनेका थिए ।

नेकपा (पुष्पलाल समूह), नेकपा माले हुँदै २०४० सालमा मोहनविक्रम सिंहको मसालमा प्रवेश गरेका पाण्डेले १४ वर्ष काम गरेर मसाल छोडे ।

नेकपा मसालले माओवादी जनयुद्धको चर्को विरोध गरेपछि दीनानाथ शर्माको नेतृत्वमा विद्रोह गरेर पार्टी गठन गरी तत्कालीन नेकपा माओवादीसँग उनले एकता गरे ।

पार्टीभित्र चर्को अन्तरविरोध हुँदा पनि पुष्पकमल दाहाल र बाबुराम भट्टराई दुबैले अत्यन्तै विश्वास गर्ने थोरैमध्येको एउटा पात्र थिए । पार्टीभित्र उनको छवि सधैं इमान्दार, निडर र क्रान्तिकारी योद्धाकारुपमा रहेको थियो ।

पाण्डेका एक छोरा, दुई छोरी छन् । वि.सं. २०६४ को संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर–४ बाट प्रतिस्पर्धा र झिनो मतले पराजित सांसद पाण्डे २०७० मा संविधानसभामा एनेकपा माओवादीको तर्फबाट समानुपातिक तर्फबाट सांसद बनेका हुन् ।

प्रकाशित मिति: २९ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्