मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्री प्रचण्डको दिनगन्ती


 


काठमाडौं, वैशाख २६
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औं पटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै आएका प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलहका कारण अझै मन्त्रिपरिषद् पूर्णता दिन नसकेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँग अझै वन तथा वातावरण मन्त्रालय रहेको छ । सो मन्त्रालय जनता समाजवादी पार्टी नेपाल (जसपा) को भागमा परेको छ । तर, जसपाले अझै मन्त्री हुनेको नामावली दिएको छैन । जसपा प्रवक्ता मनीष सुमनले २७ वैशाखमा बस्ने पार्टीको कार्यकारिणी समितिबाट निर्णय गरेर मन्त्रीको नामावली बुझाउने बताए ।

११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलह सुल्झाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइका साथै उता प्रतिपक्षी दलले उनको दिनगन्ती सुरु गरिसकेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दल मिलेर सरकार सत्तारूढ दललाई फुटाउने र अर्को नयाँ गठबन्धन बनाएर सरकार बनाउने रणनीति बनाएका छन् ।

संसद्को चौथो ठूलो दल रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । १० पुसमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको रास्वपाले २२ माघमा सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेको थियो ।

प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्