प्रतिबन्धित भारु नोट सटहीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन


 


काठमाडौं, मंसिर १
व्यवस्थापिका संसद् अन्तर्गतको अर्थसमितिले नेपालमा रहेका भारु पाँच सय र एक हजार दरका नोट सटहीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित अर्थसमितिको कार्यालयमा बिहीबार बसेको बैठकले नेपाली नागरिकसँग रहेका वैध भारतीय नोट व्यवस्थापनका लागि शीघ्र प्रक्रिया सुरु गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।

नेपालीसँग रहेको भारु साट्न कठिनाइ भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिने निर्णय गरेको समितिका सभापति प्रकाश ज्वालाले बताए ।

बैठकमा सहभागी सांसदले सीमा क्षेत्रका जनताको समस्या समाधानका अर्थमन्त्रालय र राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले पाँच सय र हजार दरका भारतीय रुपैयाँ सहज सटहीको व्यवस्थाका लागि राष्ट्रबैंकले आफ्नो तर्फबाट भारतका उच्च अधिकारीहरुसँग छलफल गरिहेकोे तर यो विषय अत्यन्तै संवेदनशील भएकाले राष्ट्र बैंकले मात्र निर्णय लिन नसक्ने बताए ।

उनले त्यसका लागि सरकारले नै कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्