बन्ला त भारुको सटही प्रक्रिया सहज ?


 


poisa-indianकाठमाडौं, मंसिर २

व्यवस्थापिका–संसदको अर्थ समितिले नेपालीसँग रहेका ५०० र एक हजारदरका भारुको सटही प्रक्रिया सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको अर्थ समितिको बैठकले नेपाली जनतासँग रहेका वैध भारुको व्यवस्थापनका लागि चाँडो पहल गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।

समितिका सभापति प्रकाश ज्वालाले नेपालीसँग रहेको भारुको व्यवस्थापन गर्न कठिनाइ भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिने निर्णय गरेको बताए ।

बैठकमा सहभागी सांसदले सीमा क्षेत्रका जनताको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले अर्थ मन्त्रालय र राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेमा विचार व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाली जनतासँग भएका उक्त दरका भारु व्यवस्थापनका लागि भारतीय रिजर्ब बैंकसँग निरन्तर सम्पर्कमा रहेको भन्दै चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: २ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्