प्रधानमन्त्रीले माफी नमागेसम्म एमालेले संसद् चल्न नदिने


 


काठमाडौं, जेठ २१ । आजदेखि प्रतिनिधिसभाको बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल गर्ने तयारी भइरहँदा एमालेले भने संसद अवरुद्ध गर्ने तयारी गरेको छ ।

प्रमुख प्रतिपक्ष दलसमेत रहेको नेकपा एमालेले निस्कृय भैसकेको नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि कालापानी क्षेत्रको विकल्प खोज्न सकिनेबारे दिएको अभिव्यक्तिको विरोधमा संसद अवरुद्ध गर्ने तयारी गरेको हो ।

एमालेले यी दुबै विषयको प्रधानमन्त्रीबाट जवाफ माग्ने तयारी गरेको छ । एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले यस विषयमा चित्त बुझ्दो जवाफ र माफी नमागेसम्म सदन अघि नबढ्ने बताए ।

राष्ट्रपतिले नागरिकता विधेयक राष्ट्रपतिले असंवैधानिक ढङ्गले प्रमाणीकरण गरेकाले सो निर्णय सच्चाउनुपर्ने एमालेको भनाइ छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले कालापानी–लिपुलेक क्षेत्र भारतलाई दिएर त्यही बराबरको भूमि बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन दिाएका थिए ।

आज बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते सदनमा पेस गरेको वार्षिक आयव्ययमाथि छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्