मनै छुने धुर्मुसको यस्तो छ प्रेमकथा (भिडियो सहित)


 


नमस्ते, म सिताराम कट्टेल धुर्मुस
हरेक सफलको खुड्किलोले मलाई मेरो बाल्यकाल सम्झाउँछ । ती पल सम्झँदा मलाई आफु कति सोझो रहेछु भन्ने महसुस पनि हुन्छ । पढ्न भन्दा पौडी खेल्न उक्साउने साथी, खोलोमा बाँध थुनेर मलाई जबरजस्ती बगाउने साथी, खाने पानीको ट्यांकी भित्र पौडी खेल्न पठाएर घाईते बनाउने र बेन्चमा राखेर हात मर्काउने साथी सबैको सम्झना आउँछ ।

जराकै सहाराले रुख बाँच्ने हो । हाँगा हाल्ने हो । यी सबै सम्झनाहरुलाई मैले मेरो जरा ठानेको छु । तिनै यादलाई संगाल्दै हरपल अगाडी बढेको छु ।

जिन्दगीकाे गोरेटोमा अघि बढ्दै गर्दा कहिले काहीँ मेरो किशोर अवस्थाले आफैँलाई छक्क बनाउछ । सोलु बाट झापा गौरादह झरेपछि पढाइमा अनेक परिवर्तन आयो ।

ब्यवहारमा भने खासै फरक आएन । केटीप्रति आर्कषण हुनु पर्ने त्यो उमेरमा ठिक बिपरित हदै सम्म डराउँथे म । बाटोमा केटीको हुल देखेपछि गुडाइरहेको साइकलबाट ओर्लेर त्यसको च्यान खोल्थे । र, बनाउन लाग्थे।

अघि अघि केटी हिँडेको देखे म फुर्सदिलो हुन्थे । तर पछाडि केटी मान्छे आए निकै हतारिन्थे । मात्र १७ सय रुपैया लिएर राजधानी छिरेको मलाई बिस्तारै कलाकारिताको भुतले छोयो ।

राजधानीमा अनेकौँ संघर्ष गर्दै अघाडी बढियो । अनेक प्रकारका अभाव सँग जुधियो । थुप्रै मान्छे सँग भेटियो । कलाकार बन्न गरेका संघर्षले केहि अवसर दिलायो ।

दमन दाईको हाँस्य टेली श्रृंखला लौन सतायो मा ब्यवस्थापक भएर काम गर्ने मौका मिल्यो । यहि टेलीश्रृंखलाले पहिलो पटक कुन्जना घिमिरे सुन्तली सँग भेट गरायो ।

कुन्जना सँग मेरो पहिलो भेट सुटिङकै दौरानमा मैतिदेवीमा भएको थियो । उनी मेक अप गर्दै थिइन । युवा भैसक्दा पनि केटी सँग खुलेर बोल्ने आँट म मा पलाएको थिएन ।

उनी आँफै बोल्न सुरु गरिन । आफ्नाे बारेमा बताईन । राम्रैसँग परिचय भयो । आफुले भन्दा धेरै काम उनले गरिसकेको जस्तो लाग्यो । रेडियो नेपालको दिन प्रतिदिन कार्यक्रममा पनि हाम्रो भेट हुन थाल्यो ।

पछि मेरी बास्सै गर्ने निधो भयो । हाम्रो भेट निकै बाक्लिँदै गयो । मेरी बास्सैका सुरुका भागमा हामी काका भतिजी भएर देख्यौँ । सहरी कथामा निर्माण गरिएको उक्त श्रृंखलामा दर्शकको खासै रुचि देखिएन । त्यसपछाडि हामिले धुर्मुस–सुन्तली नाम पायाैं ।

जोडी भएर अभिनय गर्ने गर्याे । दर्शकका अाँखामा पर्याै । अादरणीय व्यक्तित्व खेम शर्मा, दमन रुपाखेती दाइ, जितु नेपाल दाइ, मित्र केदार घिमिरेको सहयोगले धुर्मुस–सुन्तली नामबाट कला क्षेत्रमा स्थापित भयौँ ।

हामी स्टेज कार्यक्रमका लागि विभिन्न ठाउँमा जान थाल्यौँ । यसै क्रममा झापा पनि पुग्यौँ । जब उनले मेरो परिवारको अवस्था बुझिन तब अझै निकट्ता आभास दिने प्रयास गरिन ।

परिवारमा भएको ऋण तिर्न उनले त्यो समयमै साथ दिएकी थिइन । त्यतिबेला नै मलाई लाग्यो सुन्तलीको मन सफा छ, व्यवहार सहयोगी छ ।

जन्म जोडीका रुपमा देखेका वालवालिका हुन या वृद्ध, वृद्धा भेट हुँदा सबै हामीलाई बुढा बुढी जस्तै मान्थे । वास्तविक जिवनका पनि जिवन साथी बन्न आर्शिवाद दिन्थे ।

हामी यसलार्इ सामान्य रुपमा नै हेथ्यौँ । र, साथीका रुपमा सम्बन्ध अघाडी बढाउथ्यौ ।

केदार जी र दमन दाइले पनि हामीलाई रमाइलो पारामा जिस्क्याउनु हुन्थ्यो । देश विदेशका कार्यक्रमका आयोजकहरु एउटै कोठा बुक गरे हुन्छ होला नि ? भन्न सम्म पनि पछि पर्दैनथे ।

कुन्जना राम्रो बोल्थिन । सहयोग गर्थिन । म पुरुष प्रदान समाजमा हुर्केको युवक भएकाले नाम जोडिँदा कुनै अापत्ति लाग्दैथथ्याे । तर कुन्जनाका लागी यी कुरा पिँडादाइ थिए । उनकाे समाजका लागी यो कुरा काट्न हतियार थिए ।

इज्यतमा दाग लगाउने धब्बा थिए । यस्तै बेला मैले उनको सहनशिलता देखें । अाँट र साहस देखे ।

यीनै कुराले म कुन्जना प्रति पत्तै नपाइ आकर्षित भएको हुँ । उनकै कारण केटी सँग लजाउने, डराउने म एकाएक मायाँ गर्ने मायालु बनेको हुँ । कुन्जनालेनै मलाई माया गर्न सिकाएकी हुन । तर मायालु सँगै उनको हकि स्वभाब पनि छ । त्यसैले मनको कुरा भन्न भने केहि समय गार्है बनायो ।

मौका मिलाएर मैले मनका कुरा भन्दा उनले मलाइ हप्काउनु भन्दा बढी सम्झाइन । भर्खर हामी हाँस्य क्षेत्रमा स्थापित भएका छौँ । अहिले लभ गरेर बरालिने हो भने भविष्य कस्तो हुन्छ ?

समाजले हामिलाई के भन्छ ? उनकाे प्रश्नमा दम थियो । मलाई ठाउँमा ल्याउन सक्ने शक्ति थियो । मनको कुरा भनेपछि कुन्जनाले त्यसलाई सकारात्मक रुपमा लिइन ।

अझै निकट्ताको महसुस भयो । तर युवा अवस्थामा प्रेम गर्नमा जति कुरा हुन्छन त्यो बिनानै हामि अघि बढ्याैं । डेटिङ बिनानै मायामा फस्यौँ । झापामा ज्याेतिष ठाकुरको नाम चर्चा थियो । उनले गरेका भविष्यवाणी ठ्याकै मिल्छन भन्ने आम मानिसमा छाप थियो ।

घर गएको मौका पारी मैले पनि चिना हेराए । उनले विहे गरि हाल्न सुझाब दिए । त्यो पनि सुन्तली सँगै । मलाई त कुनै अप्ठ्यारो थिएन । परिवारलाई उनि कस्ति छिन भन्ने सबै थहा नै थियो ।

तर कुन्जनाको परिवार सायद म र मेरो पृष्टभुमीबारे बेखवर थियो । यद्यपी बिहे गर्ने टुङगोमा पुग्यो । मंसिर १४ मा बिहे गरेका हामीले मंसिर १७ मा पोखरामा महोत्सवमा सहभागि जनायौँ ।

यो नै बुढा बुढी बनेपछि धुर्मुस सुन्तलीले गरेको पहिलो स्टेज कार्यक्रम थियो । कुनजना मेरो जिवनमा आएपछि स्टेज कार्यक्रमको साच्चै भन्ने हो भने ओइरो नै लाग्यो ।

हामी देश विदेश पुगेर दर्शक हसाउनमा व्यस्त भयौँ । तिनै पैसामा केहि ऋण गरेर भाई कुमार कट्टेल जिक्रिलाई पढ्न बेलायत पठायौँ । शिवहरी दाइ र किरण केसी दाइको यसमा ठुलो हात थियो ।

हामीले केहि समयमै ऋण तिर्याैं । केहि पैसा जम्मा भएपछि कुन्जनाले अाँट गरिन । अब जग्गा किन्नुपर्छ । हामीले बल्ल तल्ल २ आना जग्गा किनेका थियौँ । त्यसकाे मूल्य दोब्बर भईदियो । कुन्जनाकै सुझाव अनुसार त्यो बेचेर चार आना जग्गा किन्यौँ ।

थोरै–थोरै गरेर कमाएको पैसाको सदुपयोग गर्न उनैले सिकाइन मलाई । फेरी करिब दुइ लाख जति जम्मा भएको थियो । उनले घर बनाउने अाँट गरिन । दुवैजना मिलेर काम गर्यौँ ।

घर बनाउन सुरु गर्यौँ । अवश्य बनाउन सकिन्छ भनेर आँट गरिन । उनको साहसलाई सम्मान गरेर अघि बढ्दा बढ्दै घर पनि बन्यो । महिलामा एक विशेष शक्ति हुन्छ, त्यसको सहि सदुपयोग भए हरेक पुरुष सकारात्मक बाटोमा लाग्छ । परिवारले मात्र होइन । समाज र सिंगो देशले त्यसको प्रतिफल पाउँछ । कुन्जना सपना देख्थिन, आँट गर्थिन र पुरा गरेरै छाडथिन । महिलामा एकाग्रता हुन्छ भन्ने कुरा मैले उनलाई हेरेर नै अनुभव गरेको हुँ ।

सरकारले हामीलाई सफाइ दुत घोषणा गर्दापनि कुन्जनाले नै मलाई हौसाएकी हुन । यो देशले दिएको जिम्मेवारी हो । हामीले पाएको जिम्मेवारी पुरा गर्न चुपचाप बसेर हुँदैन । उनका यी भनाइले मलाई उर्जा दियो । हामीले सरसफाई अभियान चलाउने निधो गर्यौँ ।

काखे छोरी छाडेर उनले पनि त्यो जिम्मेवारी पुरा गर्न सँगै हिँडिन । समाजले के भनला भन्दा बढी वातावरण सँगै समाजमा रहेका मनिसको दिमाग सफा हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढ्यौँ ।

राजमार्गका शौचालयहरु निर्माण गर्ने सामाजिक उदेश्य लिएर हामी कार्यक्रमका लागि अमेरिका गयौँ । त्यहिबेला भुइँचालो गयो । कार्यक्रम नगर्ने निस्कर्ष निकाल्दै उनले स्वदेश फर्केर पीडामा रहेकाहरुको सहयोगमा जुट्नुपर्ने अावश्यकता औँलाइन ।

जहाजमा उडदै गर्दा देखिएका खाफसहरू हेर्दै भन्थिन पराकम्पनले मानिसलाइ कति अत्याइरहेकाे होला ? यो खाली ठाउँमा ल्याएर राख्न पाए सुरक्षित त हुन्थे ।

उनको भनाईमा दया भाव देखिन्थ्यो । देश प्रतिको चिन्ता देखिन्थ्याे । पिडामा रहेकाहरुको दुखाईमा मलम पट्टि गर्ने सपना देख्थिन । महिलाहरु पुरुष भन्दा बढी पारदर्शी हुन्छन । यो कुरा म ढुक्कले भन्न सक्छु ।

किनकी मैले यो अनुभव गरेको छु । कुन्जनाले देखेको सपनाले मलाई कहिल्यै घाटामा पुर्याएको छैन । त्यसैले उनको दुरदर्शितामा मलाई विश्वास छ । म उनले देखाएको बाटो ढुक्कले हिँड्छु । आएका व्यवधान पन्छाउँछु र अघि बढ्छु ।

अहिलेसम्म जति महत्वपुर्ण काम गरेँ त्यसमा उनको दुरदर्शिताले नै काम गरेको छु । उनको अाँटले नयाँ उचाइ प्रदान गरिरहेको छ । राहत वितरणका लागि बिभिन्न ठाउँमा पुग्दा देखिएका परि दृश्यले मन सम्हाल्न गार्हाे हुन्छ ।

हरपल हामी भक्कानिन्थ्याैं । हामीले सकेको राहत वितरण गर्यौँ । र, बस्नकै लागि बिकराल समस्या देख्यौँ । अस्थायी टहराहरु निर्माण हुँदै गर्दा हामीले एउटा अस्थायी वस्ति निर्माण गर्ने लक्ष्य राख्यौँ ।

बोल्दामात्र कसैले राम्रो सुन्दैन । पत्याउँदैन । तर गरेर देखाए त्यसको सिको गर्नेहरु थुप्रै भेटिन्छन भन्ने हाम्रो सोच थियो । कुन्जना भन्थिन घर बनाउनु ठुलो कुरा होइन, समाज मिलाउनु ठुलो कुरा हो ।

यसो सोच्दा हो पनि । मनिस मिलाउन सके असम्भव कुरा के छ र ? मानिस मिले मजबुत समाज बन्छ । पार्टी मिले मजबुत देश बन्छ । यहि मान्यताका साथ काभ्रेको डाँडागाउ समाज मिलाउने पहिलो प्रयास गर्यो ।

समाज बल्ल तल्ल मिल्यो । अनेक ब्यवधान आइपर्यो । वस्ति निर्माण सुरु गर्यो । तर अन्त्य गर्न निकै गार्हो भयो । यहि तनाबमा म एक दिन टेन्ट मुनि सुस्ताएर बसेको थिएँ । कुन्जनाले नजिक आएर भनिन काम सुरु गर्यौँ अब फत्ते नगरी हुँदै हुँदैन । तपाइँको तनाब दूर गर्ने एउटा उपाए म सँग छ । उनको भनाईले मनमा तरंग पैदा गर्यो ।

बल्ल तल्ल बनाएको घर बेचेर बस्ति निर्माणको काम सक्ने उपाय उनले सुल्झाएकी थिईन । साच्चिकै उनले भने जस्तै हाम्रो अन्तिम उपाए त्यहि थियो ।

दर्शक हँसाएर बनाएको घर दुख र पीडामा रहेको दर्शकको मुहारमा हाँसो ल्याउनमै त खर्च हुने हो । उनको भनाईले मलाई नयाँ उर्जा थप्यो । मन मनै भने धन्य सुन्तली !

जसो तसो अस्थायी टहरा बन्दै गर्दा भुकम्प पीडित २० परिवारका लागि सुरक्षित एकिकृत आवास बनाईयो । तराइमा आन्दोलनको आगो बल्दै गर्दा मुसर वस्तिमा सहयोग र सदभावका लागि पुग्याैं ।

उनिहरुको दिमागमा सकारात्मक प्रभाव छाड्न सुन्तलीको सहयोग अतुलनिय छ । पहिलो बस्ति सोचे अनुरुपको नहुँदा कुन्जना बेला बखत भन्थिन यस्तो शहर बनाउन मन छ जहाँ हरेक प्रकारका चिटिक्कका घर हुन ।

चौडा बाटो होस, बगैँचा होस, बालबालिकाका लागि खेल्ने छुट्टै खेल मैदान होस, समाज एक भएर रमाईलो गर्ने सामुदायिक भवन होस । त्यो वस्तिनै मानिसको आय आर्जनको माध्यम बनोस ।

अनि त्यहाँका मानिसको जिवनस्तर सुध्रिएको सबैले महसुस गरुन । यस्तै वस्तिको आवश्यक्ता बुझेर समाज मिलाउने र शान्ति फैल्याउने बाटो अघि बढ्न सकोस, उनको यो सपनाले मेरो मन छोएको थियो । त्यहि सपना पुरा गर्ने प्रयासम गिरानचौर नमुना बस्ति निर्माण भएको हो ।

सपना देख्ने र देखाउने पर्याप्त पाइन्छन । त्यो सपना पुरा गर्न साथ दिने अशल साथीको अभाव जुनसुकै र जहाँ सुकै खड्किरहेको हुन्छ । सरकार पनि त्यस्तै सपना देख्छ । तर अन्य पार्टीहरू मुन्टो अर्कै तिर फर्काउँछन ।

यसरी सपना तुहिन पुग्छन । जनता निरास हुन्छन । कतिपय परिवारमा यस्तै हुन्छ । र, सँधै कलह भईरहन्छ । तर कुन्जना सपना देखाउँछिन र सपना पुरा गर्न सहयोग गर्छिन ।

काम सम्पन्न नभए सम्म साथ दिइरहन्छिन । त्यसैले महिलामा माया, स्नेह सहितको शक्ति हुन्छ । त्यो शक्ति सदुपयोग हुने हो भने पुरुषको संलग्नतामा समाज मात्र होइन सिँगो देश सम्पन्न बन्नेमा दुई मत छैन ।

मलाई विश्वास छ कुन्जना तिम्रो साथले अझ धेरै काम गर्न हौसाउने छ । कलाकारितामा मात्र होइन सामाजिक काममा पनि झन सक्रिय बनाउने छ ।

तिमीले दिएको अाँट, साहस र देखाएको सपनाले हाम्रो हरेक पाईला उचाई तर्फ बढाउने छ । यसमा तपार्इहरु सम्पुर्ण शुभचिन्तकहरूकाे साथ यसरी नै मिलिरहेको खण्डमा यो देशको मुहार फेर्न हाम्रा पाइलाहरु हरपल तत्पर रहने छन । राष्ट्रनर्माण तपार्इ हाम्रो अभियान हो ।

जय देश, मेरो नेपाल ।

For see network मा धुर्मुसकै अावाजमा रेकर्ड भएकाे भिडियाेकाे हामीले शव्दानुवाद गरेका हाैं ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति: ४ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्