बाढी पहिरोले २१ को मृत्यू, २७ बेपत्ता


 


ताप्लेजुङ्ग जेठ २८

बाढी र पहिरोका कारण ताप्लेजुङका विभिन्न स्थानमा २१ जनाको ज्यान गएको र अन्य २७ जना वेपत्ता रहेको अधिकारीहरुले बताएका छन्।

बिहीबार साँझसम्म बाढी र पहिरोमा परि ज्यान गुमाएका २१ जनाको शव फेला परेको तात्लेजुङका प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौलाले जानकारी दिए।

जिल्लाका खोक्लिङ, थिङलाबु, लिवाङ, लिङ्तेप र खाम्लुङ् गाविस पहिरोबाट नराम्ररी प्रभावित भएका छन् र त्यहाँ हराइरहेकाहरुको खोजी कार्य भइरहेको छ।

दिनभर सिमसिम पानी परेर त्यहाँको मौसम प्रतिकुल हुँदा त्यसले उद्धारमा समस्या भइरहेको निरौलाले बताए।

प्रयास

निरौलाले भने, “प्रतिकुल मौसमको कारणले खोजीकार्य प्रभावित भएको छ। अहिलेसम्म ५ जना घाइतेहरुलाई उपचारका लागि सदरमुकाम र ३ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकेका छौं।”

बुधबार रातिको वर्षाले ताप्लेजुङका मेवा र तमोर नदीमा बाढी आएको बताइएको छ।

वर्षापछि स-साना खोलाहरु समेत बढेकोले घाइतेहरुलाई उपचारका लागि बेलैमा अस्पताल पुर्याउन नसकिएको र वेपत्ताको उद्धार कार्य पनि प्रभावित भएको समेत अधिकारीहरुको भनाइ छ।

प्रतिकुल

ताप्लेजुङका प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले पहिरो प्रभावित क्षेत्रमा घटनाको जानकारी पाउनासाथ प्रहरी परिचालन गरिएको भए पनि खोला र पहिरोका कारण कतिपय पहिरो प्रभावित गाँउमा प्रहरी टोली पुग्न नसकेको बताएका छन्।

वर्षा र पहिरोले मेवा खोला र तमोर खोलामा वाढी आएकोले नदी आसपासका कयौं वस्तीहरु जोखिममा परेको ताप्लेजुङवाट हाम्री सम्वादाता सीता निरौलाले जनाएकी छन्।

जलतथा मौसम विज्ञान विभागका अनुसार गत २४ घन्टामा ताप्लेजुङमा १३० मिलिमिटर वर्षा भएको थियो।

मौसमवीद सुवास रिमालका अनुसार पूर्वी नेपालमा मनसुने गतिविधि शुरु हुनै लागेको छ र एक दुई दिनमा मनसुन देशैभर सुरु हुने बताइएको छ।

bbcnepali

 

प्रकाशित मिति: २८ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्