समाजवादी मोर्चामा बाबुराम र वामदेव समेटिएनन्, उपेन्द्र बाधक


 


काठमाडौं, असार ३ । समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नसमेटिने भएका छन् ।

नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नेत्रविक्रम चन्द‘ विप्लव’ नेतृत्वको नेकपा गरी चार पार्टी मात्रै समेटिने भएका हुन् । चार पार्टी सम्मिलित समाजवादी मोर्चाको घोषणा सोमबार दिउँसो १ बजे राष्ट्रियसभामा हुने भएको छ ।

समाजवादी मोर्चा बनाउनुपर्ने वकालत गर्दै आएका बाबुराम र वामदेव गौतम नसमेटिने भएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए । मोर्चा घोषणा भएपछि बाबुराम र वामदेवलाई समेत समेट्न सकिने श्रेष्ठको भनाई छ ।

बाबुरामलाई मोर्चामा ल्याउन जसपाका अध्यक्ष उपेन्द्र यादव अनुदार देखिएको बताइएको छ भने वामदेवले आफैँ चासो दिएनन् ।

भट्टराईलाई समाजवादी मोर्चामा समेट्न नेसपा र माओवादी केन्द्रका नेताहरू जोडतोडका साथ अझै लागेका छन् । यदि मोर्चामा बाबुराम नसमेटिए माओवादीसँग एकता गरेर भए पनि बाबुरामलाई समेट्ने प्रयास गरिएको छ ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्