अन्ततः फुट्यो लोक तथा दोहोरी गीत प्रतिष्ठान


 


काठमाडौं, असार ३ । अन्ततः नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान औपचारिक रूपमै विभाजन भएको छ। असन्तुष्ट समूहहरूले वरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संस्था दर्ता भएको छ ।

कार्कीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नामक संस्था दर्ता भएको छ।

परिषदको उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरूमा खड्ग गर्बुजा, शिव आले र केशरी घर्ती छन्। यो तदर्थ समितिको बैठकले भदौभित्र अधिवेशन बोलाउने भएको छ।

उपाध्यक्ष खत्रीले औपचारिक रूपमा नयाँ संस्थाको गतिविधि सुरु भएको बताए। लोकदोहोरीका सबै विधालाई समेटेर वृहत् रूपमा अघि बढ्ने तयारी रहेको उनले बताए ।

यसअघि प्रतिष्ठानको पूर्व महासचिव समेत रहेका गायक खत्रीले संस्थामा नरहेको घोषणा गरेका थिए। यसअघि, फागुनमा धादिङमा भएको आठौँ महाधिवेशनमा विष्णु खत्री प्रतिष्ठानमा अध्यक्षको उम्मेदवार बन्ने चर्चा थियो। आन्तरिक तयारी लगभग गरेका उनी अन्तमा बाहिरिएका थिए।

लोक तथा दोहोरी गीत प्रतिष्ठानमा ३० हजार बढी साधारण सदस्य छन्। पछिल्लो समय गैर कलाकार पनि संगठनमा रहेको भन्दै विरोध हुँदै आएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा भने रीता थापा मगर छिन्। गत फागुनमा धादिङ भएको महाधिवेशनमा उनी निर्विरोध निर्वाचित भएकी हुन्। वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा छन्।

प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षमा क्रमशः सुवास केसी, दीपक खड्का र राधिका हमाल छन्। महासचिव शिव हमाल, उपमहासचिवद्धय हरि डाँगी र शिरिष देवकोटा छन्। अमृता अधिकारी कोषाध्यक्षमा र जमुना राना महिला सचिवमा छिन्।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्