देशभरि बाढीपहिरोको वितण्डा : अहिलेसम्म ३७ जनाको मृत्यु


 


काठमाडौं, साउन २४
यस वर्ष शुरू भएको मौसमजन्य विपद्बाट हालसम्म ३७ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ४९ जना घाइते भएका छन् । त्यसै गरी १ सय १२ घर पूर्ण रूपमा क्षति भएको छ भने १ सय ४९ घरमा आशिंक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

वर्षाका कारण ४५ जिल्ला प्रभावित भएको छ । बाढी र पहिरोका कारण मुलुकका मुख्य राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् । बाढी र पहिरोका कारण मुख्य तथा सहायक राजमार्ग र सरकारी तथा निजी सम्पत्ति ४ अर्ब ४५ करोड भन्दा बढीको भौतिक क्षति भएको छ ।

बाढी र पहिरोले अहिलेसम्म २० हजारभन्दा बढी मानिस मुलुकभर प्रभावित भएका छन् । बाढी र पहिरोका कारण घर गोठ भत्किएर अलपत्र परेका मानिसलाई सुरक्षा निकायको समन्वयमा सुरक्षित स्थानमा लैजाने काम भएको छ भने विभिन्न सामाजिक संघसंस्थाले खानपानको व्यवस्था गर्नुका साथै सरकारले पनि राहत उपलब्ध गराएको छ ।

केही दिनयता बंगालको खाडीबाट न्यूनचापीय रेखा पूर्वी नेपालमा प्रवेश गरेका कारण शुरू भएको अविरल वर्षाले देशभरका मुख्य तथा सहायक नदीको जलप्रभाव बढेकाले मंगलवारदेखि बिहीबारसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अविरल वर्षाका कारण पूर्वी नेपालका मुख्य तथा सहायक नदी र राजधानीको वागमती तथा विष्णुमति नदीमा जल प्रवाह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

मंगलबार मध्यरातबाट परेको अविरल वर्षाका कारण राजधानीको नदी किनारका बस्ती डुबानमा पार्नुका साथै दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ ।

बाढीका कारण विभिन्न क्षेत्रमा अलपत्र परेका ६ जनालाई सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको छ । बाढीका कारण अवरोध भएको बाटाहरू खुलाउनुका साथै सो बलले राहत सामग्रीसमेत वितरण गरेको छ ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्