किन गए ओली बिजुक्छे निवास ?
काठमाडौं, मंसिर २९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच बुधबार भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवासमा भेटवार्ता भएको छ ।
देशको समसामयिक अवस्था, संसद अवरोध, संविधान कार्यान्वयन एवं निर्वाचनका सम्बन्धमा दुई दलका नेताबीच छलफल भएको हो ।
भेटवार्तापछि सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदको जारी अवरोध, संविधान कार्यान्वयन र स्थानीय निकायको निर्वाचनका विषयमा कसरी अगाडि जाने भन्नेबारेमा दुबै नेताबीच छलफल भएको बताए ।
सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव देश र जनताको हितविपरीत रहेको भन्नेबारेमा दुबै दल एकमत रहेको बताउँदै पूर्वसभामुखसमेत रहेका नेता नेम्वाङले संसदको अवरोध र सडक आन्दोलनलाई जारी राख्दै अझै शसक्त ढंगले लैजानेबारेमा दुबै दलको एउटै धारणा बताए ।
त्यस्तै, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसदको अवरोध जारी राख्नेबारेमा दुई दलबीच सहमति भएको जानकारी दिए ।
अध्यक्ष बिजुक्छेले स्थानीय निकायको निर्वाचनका लागि अझै ऐन–कानुन नै नबनेको अवस्थामा संसदमा दर्ता भएको विधेयकलाई थाती राखेर निर्वाचनमा जाने भन्ने चर्चा सत्तापक्षले प्रतिपक्षको ध्यान अन्तै मोड्न खाजेको आरोप लगाए ।
प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार