प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै, यस्तो छ कार्यक्रम तालिका


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रचण्ड यूएई जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । कोप–२८ को २८औँ सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । डिसेम्बर २ मा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औँ ‘युनियन डे’को अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुनेछन् । उनी यूएईले आयोजना गर्ने जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड डिसेम्बर २ मा सम्मेलनको साइडलाइनमा आयोजना गरिने ‘कल अफ द माउन्टेनः हु सेभ्स अस फ्रम दी क्लाइमेट क्राइसीस रु’ कार्यक्रममा होस्टको रूपमा रहनेछन् । कार्यक्रममा जलवायु परिवर्तनका सम्बन्धमा नेपालले आवाज उठाउनेछ ।

सम्मेलनको साइडलमा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण, नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो र अन्य वरिष्ठ अधिकारीहरू पनि जानेछन् । प्रधानमन्त्री डिसेम्बर ३ मा स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्