पुसभित्रै फेरिन सक्छन् मन्त्री, थालियो कार्यसम्पादन समीक्षा


 


काठमाडौं । सरकारका मन्त्रीहरूले साउन २६ यता आफूहरूले गरेको कामको विवरण मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बुझाएका छन्। मन्त्रीहरूले बुझाएका विवरणमाथि समीक्षा गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठले प्रधानमन्त्री कार्यालयले माग गरेअनुसार मन्त्रालयले गरेका कामको सबै विवरण प्रधानमन्त्री कार्यालयमा बुझाएको बताइन्। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीसँग विस्तृत रूपमा कामको सूची मागेको छ। सरकार गठन भएको एक वर्ष पूरा हुनै लाग्दा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीको ‘पर्फर्मेन्स’ (कार्यसम्पादन) समीक्षा गर्न सुरु गरेको हो ।

दुई साताअघि मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले सबै मन्त्रालयबाट कार्यसम्पादन सम्झौता मूल्यांकन फाराम मागेको थियो। धेरैजसो मन्त्रालयबाट अनलाइनमार्फत कार्यसम्पादन फाराम आइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

साउन २६ गते प्रधानमन्त्री दाहालले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए। स्रोतका अनुसार पछिल्लो ४र५ महिनाको अवधिमा अधिकांश मन्त्रीको कार्यसम्पादनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सन्तुष्ट छैनन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालको चाहनाअनुसार कार्यसम्पादन मूल्यांकन भइरहेको छ। यसका लागि दाहालले प्रधानमन्त्री कार्यालयभित्रै एउटा अनौपचारिक टिम बनाएका छन्। टिमको नेतृत्व प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले गरेका छन्। नागरिक दैनिकबाट

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्