‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्न धितोपत्र बोर्डमा निवेदन पेश


 


काठमाडौं, फागुन २ । गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने प्रयोजनका लागि गत माघ महिना २८ गते नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नका लागि निवेदन पेश गरिएको छ ।

गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गत रु १ अर्ब बराबरको पहिलो बन्दमुखी योजनाको रुपमा दर्ताका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

प्रस्तावित योजना अन्तर्गत १० रुपैयाँ अङ्कित १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त योजना हाल नेपाल धितोपत्र बोर्डको म्युचूअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।

यस संस्थाले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ ।

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ ।

यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता गरेको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्