महालक्ष्मी विकास बैंक नेप्सेद्धारा जारी संगठित संस्थाको ‘ए’ वर्गमा पर्न सफल


 


काठमाडौं, फागुन ४ । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्जद्धारा जारी संगठित संस्थाको वर्गिकरणमा ‘ए’ वर्गमा परेको छ ।

नेप्सेले बिहीबार एक सूचना जारी गर्दै महालक्ष्मी विकास बैंक संगठित संस्थाको वर्गीकरणमा ‘ए’ वर्गमा पर्न सफल भएको जनाएको हो ।

धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पुरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभाशं वितरण गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाहरु ‘ए’ वर्गमा पर्ने ब्यवस्था छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

साथै गएको पुस २८ गते सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्