आउँदो चुनावमा गठबन्धन नगर्ने, हालको गठबन्धन सरकारलाई बलियो बनाउने कांग्रेसमा सहमति


 


काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच आउँदो चुनावमा कांग्रेस एक्लै चुनाव लड्नेगरी पार्टीलाई बलियो बनाउने सहमति भएको छ ।

महासमिति बैठक उद्घाटनपछि मध्यरातसम्मै देउवाको बूढानीलकण्ठस्थित निवासमा ६/७ घण्टा लामो छलफलमा वर्तमान सत्ता गठबन्धनलाई नै बलियो बनाएर अघि बढ्ने सहमति भएको हो ।

महामन्त्री थापाले सांगठनिक प्रतिवेदनमा रहेको भविष्यमा हुने चुनावमा निर्वाचन पूर्व गठबन्धन नगर्ने संकल्प गर्ने प्रस्तावमा संस्थापन पक्षले आपत्ति जनाएको थियो ।

लगातार छलफल गर्दा पनि सहमति नजुटेपछि सभापति देउवाले उद्घाटनका क्रममा गठबन्धनबारे अहिले निर्णय नगर्ने मत राखेका थिए ।

तर महामन्त्री थापा आफ्नो प्रस्तावमा अडिग रहेपछि सोमबार मध्यराति आउँदो चुनावमा कांग्रेस एक्लै चुनाव लड्नेगरी पार्टीलाई बलियो बनाउने र हाललाई सोही गठबन्धन सरकारलाई बलियो बनाउने विषयमा सहमति भएको बताइएको छ ।

आज बिहान ९ बजे सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक र प्रवक्ता डा.प्रकाशशरण महतको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्