चौका विवादले पदक समेत अस्विकार



काठमाडौँ, पुस१३
अम्पायरले चौका नदिएपछि एपिएफको महिला क्रिकेट टोलीले फाइनल खेल बहिष्कार गरेको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक भिडन्तमा मंगलबार राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफले पूर्वाञ्चलको सामना गरेको थियो । एपिएफले खेल बहिष्कार गरेपछि प्राविधिक टोलीले पूर्वाञ्चललाई च्याम्पियन घोषणा गरेको छ ।
एपिएफका खेलाडीले रजत पदकसमेत बहिष्कार गरे ।

इनिङको १८औँ ओभरमा पूर्वाञ्चलकी कप्तान कविता गौतमले बलिङ गरेकी थिइन् । १८.४ बलमा एपिएफकी रितु कनौजियाले आकर्षक सट प्रहार गरिन् । बाउन्ड्री लाइनमा पूर्वाञ्चलकी फिल्डर अप्सरा वेगमले रितुद्वारा प्रहार बल समात्न सकिनन् । बल बाउन्ड्री घेरिएको डोरीनजिक खस्यो । त्यसपछि वेगम बललाई खुट्टाले रोक्दै बाउन्ड्री बाहिर गइन् र डोरी नाघ्दै बल टिप्दै क्रिजतर्फ फ्याँकिदिइन् ।

अम्पायर अधिद प्रधानले वेगमलाई बलले बाउन्ड्री लाइनको डोरीमा छोएको वा नछोएको भनी सोधे । वेगमले बल बाउन्ड्री लाइनभन्दा बाहिर नगएको बताइन् । अम्पायर प्रधानले वेगमकै कुरा सही माने । यतिवेलासम्म एपिएफका खेलाडी शान्त नै थिए । एपिएफले थप दुई बल खेल्यो । गौतमले दुवै बल वाइडका रूपमा फ्याँकिन् ।

पूर्वाञ्चलकी खेलाडी गौतमले १८औँ ओभरको अन्तिम दुई बल वाइड फ्याँकेपछि एपिएफका खेलाडी विवादमा उत्रिए । अम्पायर र विपक्षी खेलाडीबीच मिलेमतो भएको दाबी गर्दै एपिएफका खेलाडीले मैदान छाडे ।

फाइनल खेल बहिष्कार गरेका एपिएफकी खेलाडी बिनु बुढामगरले आफूलाई अम्पायरले अन्याय गरेको प्रतिक्रिया दिएकी छिन् ।

म्याच कमिस्नर सरकारले पूर्वाञ्चललाई विजयी घोषणा गरेपछि एपिएफका खेलाडी थप आक्रोशित भए । पूर्वाञ्चलका खेलाडीलाई अपशब्द प्रयोग गर्दैै एपिएफका खेलाडी मैदानबाट बाहिरिए ।

राष्ट्रिय टोलीकै सिनियर क्रिकेटर सीता रानामगरले विपक्षी खेलाडीलाई ‘माझी औँला’ देखाउँदै अपशब्द प्रयोग गरिन् ।

पूर्वाञ्चलका खेलाडीले एपिएफका खेलाडीहरूको व्यवहारप्रति कुनै प्रतिक्रिया भने दिएनन् ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News