संसदबाट निर्वाचन सम्बन्धी थप विधेयक पारित हुने
काठमाडौँ, माघ २०
व्यस्थापिका संसदबाट आज निर्वाचन सम्बन्धी थप विधेयक पारित गर्दैछ । राज्य व्यवस्था परामर्श समितिले प्रतिवेदन सहित हिजो सदनमा पेश गरेको विधेयक आज छलफलपछि पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ । समिति सभापति दिलबहादुर घर्तीले विधेयकमाथिको दफाबार छलफलका क्रममा प्राप्त सुझाव र सहमतिलाई समेटेर प्रतिवेदन हिजोको बैठकमा पेश गरेका थिए ।
दिउँसो १ बजेपछि बस्ने बैठकले विधेयकमाथि सामन्य छलफलपछि पारित गर्ने कार्यसुची छ । यो सँगै संसदले निर्वाचन सम्बन्धी चार वटा विधेयककलाई अन्तिम टुङ्गो लगाउनेछ । राजनितिक दल सम्बन्धी विधेयक भने राज्य व्यवस्था समितिमै छलफलका क्रममा रहेको छ ।
समितिको आज बस्ने बैठकले उक्त विधेयकमा रहेको थ्रेसहोल्ड सम्बन्धी विवादमा सहमति जुटाई टुङ्गोमा पुरयाउने प्रयास गरिने समिति सचिवालयले जनाएको छ । यद्यपी बैठकको समय भने निर्धारण गरिएको छैन ।