निर्वाचनको तयारी गर्न सरकारले आयोगलाई पत्र पठाउँदै


 


काठमाडौं, माघ २१

स्थानीय तह निर्वाचनको तयारी गर्न निर्देशन दिँदै सरकारले आज निर्वाचन आयोगलाई पत्र पठाउँदैछ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले वैशाखको अन्तिम सातादेखि जेठ १० गते भित्र सक्नेगरी निर्वाचनको तयारी गर्न आयोगलाई पत्र पठाउने निर्णय गरेको थियो ।

सरकारको आधिकारिक पत्र प्राप्त भएपछि चुनावको तयारी गर्न आयोगलाई औपचारिक रूपमा बाटो खुल्नेछ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले पत्र आएपछि आयोगले तयारी तीब्र पार्ने बताए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन विधेयक पारित नभई चुनाव घोषणा नगर्न दबाब दिएकाले सरकारले चुनावको मिति तोक्न नसकेको हो । सरकारले दुई हप्ताभित्र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन र त्यसमाथि आएका गुनासाको विस्तृत अध्ययन गरी सुझाव सहित प्रतिवेदन बुझाउन आज नै संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

सरकारले मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी एमालेसँग छलफल गरी सहमति खोज्ने तयारी गरेको छ । सरकारले मिति नतोकी निर्वाचन आयोगलाई पत्राचार गर्न लागेपछि मधेशी मोर्चा थप असन्तुष्ट भएको छ । एमालेले भने सरकारले निर्णय स्वागतयोग्य भएको बताएको छ ।

प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्