यि १० जिल्लामा राप्रपाकाे जिल्ला अधिवेशन विवाद


 


काठमाडौँ, माघ २९

राष्ट्रिय प्रजातन्त्र पार्टीको १० जिल्लाको अधिवेशनमा विवाद देखिएको छ । तत्कालीन राप्रपा र राप्रपा नेपालका नेता तथा कार्यकर्ताले जिल्लाको नेतृत्व छोड्न नचाहेपछि मुगु, जुम्ला, रौतहटलगायत स्थानमा विवाद उत्पन्न भएको हो ।

पार्टी प्रवक्ता राजाराम श्रेष्ठका अनुसार यही माघ २५ गते देशभर सुरु भएको सो अधिवेशनमा ६५ जिल्लामा सहमति र निर्वाचनका आधारमा नेतृत्व छनोट भएको छ ।

पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म हुन लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गरी आगामी फागुन २ गतेसम्म केन्द्रमा नाम पठाउन पर्ने भएकाले आइतबारसम्म सो विवाद मिलाइसक्नु पर्नेछ ।

आपसी समझदारीमा विवाद मिलाउन निर्वाचन समितिले प्रयत्न गरिरहेको भए पनि केही प्राविधिक कारणले विवाद मिल्न नसकेको बताइएको छ ।

यसैबीच पार्टीको आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि विवाद समाधानका लागि भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

सो बैठकले महाधिवेशन मूल आयोजक समिति तथा त्यसअन्तर्गतका विभिन्न ११ समितिले अहिलेसम्म गरिरहेका तयारी तथा जिम्मेवारीका बारेमा छलफल गरी सुझाव सङ्कलन गर्नेछ ।

पार्टीका सबै नेता तथा कार्यकर्तालाई पार्टीको स्थानीय तहदेखि नै अनुमोदन भएर आउनका लागि वडा, गाउँ, नगर, क्षेत्रीय हुँदै जिल्ला अधिवेशन गरिएको थियो । यसपटक करिब २० लाख विशेष साधारण सदस्य वितरण गरिएको थियो ।

प्रकाशित मिति: २९ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्