केही पक्षलाई जनयुद्ध मार्फत प्राप्त उपलब्धी स्वीकार गर्न असजिलो भइरहेको छ- प्रधानमन्त्री


 


काठमाडौं, फागुन १

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही पक्षलाई जनयुद्ध मार्फत प्राप्त उपलब्धी स्वीकार गर्न असजिलो भइरहेको बताएका छन् । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता माओवादी जनयुद्धका उपलब्धीप्रति केही राजनीतिक शक्तिहरुले अपनत्व ग्रहण गर्न नसकेको बताएका हुन्।

माओवादीले सशस्त्र क्रान्ति जनयुद्ध सुरु गरेको २१ वर्ष पूरा भएको अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले हिजो सरकारमा रहेर जनयुद्ध दबाउन खोज्नेहरुले परिवर्तन नरुचाएको दावी गरे । ‘हिजो सरकारमा बसेर जनयुद्ध दबाउन लागेकाहरुले परिवर्तनमा अपनत्व महसुस गर्न सकेका छैनन्, माओवादी कमजोर भएकाले परिवर्तन उल्ट्याउन सकिन्छ कि भनेर लागेका छन् तर सम्भव छैन’ प्रधानमन्त्री प्रचण्डले भने ।

अहिले मधेसी जनतालाई अधिकार सम्पन्न बनाउनुको सट्टा नेपालबाट अलग गराउन साम्राज्यवादीहरुले उपयोग गरेको उनले बताए । ‘जहाँ जहाँ परिवर्तन देख्छौं गाउँ, शहरमा त्यसका पछाडि जनयुद्धले भूमिका खेलेको पाउँछौं’ उनले भने।   जनयुद्धले आधारभूमि तयार नगरेको भए १९ दिने जनआन्दोलन र त्यसपछिका अधिकारका आन्दोलनहरु सम्भव नभएको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले संविधान कार्यान्वयनबाट मात्र जनयुद्धका उपलब्धीको रक्षा हुने भन्दै त्यसका लागि माओवादी घटक र सच्चा क्रान्तिकारीहरु एक ठाउँमा आउनुपर्ने बताए। पोहोर साल जनयुद्ध दिवस मनाउँदा पार्टी फुटका कारण केही निराश भएपनि अहिले एकतावद्ध भएकाले उत्साह जागेको प्रधानमन्त्री प्रचण्डले दावी गरे।

प्रकाशित मिति: १ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्