लाहोरमा बम विस्फोट, डिआइजी र एसएसपीसहित १३ जनाको मृत्यु


 


 एजेन्सी, फागुन ३

पाकिस्तानको लाहोरमा बम विस्फोट हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको  छ । लाहोरको पूर्वी क्षेत्रमा भएको विरोध प्रदर्शनको आत्मघाती बम विस्फोट हुँदा अन्य ४० जना घाइते भएको र घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको पाकिस्तान प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । विस्फोटनमा परि ज्यान जानेमा लाहोरका ट्राफिक प्रहरी डिआइजी अहमद मुबिन र एसएसपीका जाहिद महमुद गोन्दल पनि रहेको समाचार संस्था एपीले जनाएको छ ।

स्थानीय एक फार्मेसीले पञ्जाब प्रान्तले औषधि बिक्री सम्बन्धी कानुनमा संशोधन गर्न लागेकोमा विरोध प्रदर्श भइरहेको ठाउँमा विस्फोट भएको हो । मोटरसाइकलमा आएको आत्मघाती आक्रमणकारी प्रदर्शनकारीकोबिचमा छिरेर आफैलाई विस्फोट गराएको प्रत्यक्षदर्शीले बताएका छन् । तालिबानसँग सम्बन्धित समूह जमात–उल–अहरारले विस्फोटको जिम्मेवारी लिएको छ । पाकिस्तानी सेनाले गरेको कारवाही अभियानको प्रतिक्रिया स्वारुप विस्फोट गराएको उसको भनाई छ । ज्यान जानेको संख्या अझै बढ्न सक्ने खतरा छ । प्रधानमन्त्री नवाज शरीफले आक्रमणको निन्दा गरेका छन । गुप्तचर विभागलाई सजग रहन निर्देशन पनि दिएका छन ।

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्