तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
मुम्बई । अभिनेता आमिर खान र उनकी प्रेमिका गौरी स्प्र्याट चाँडै नै विवाह बन्धनमा बाँधिने भएका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाए अनुसार उनीहरू यसै वर्षको जुलाई ५ मा एउटा निजी समारोहबिच विवाह गर्दै छन्।
यो विवाहमा कुनै ठुलो तामझाम वा भव्य रिसेप्सन पार्टीको आयोजना गरिने छैन। दुवैले एउटा सानो साइनिङ सेरेमनीमार्फत आफ्नो सम्बन्धलाई कानुनी रूपमा औपचारिकता दिने तयारी गरेका छन् । आमिर खानले सन् २०२५ मा आफ्नो ६० औँ जन्मदिनको अवसरमा गौरीसँगको सम्बन्धलाई सञ्चारमाध्यमका अगाडि स्विकारेका थिए।
यो आमिर खानको तेस्रो विवाह हुने छ। आमिरले पहिलो विवाह सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग गरेका थिए । सन् २००२ मा रीनासँग सम्बन्ध विच्छेद भएपछि आमिरले सन् २००५ मा निर्देशिका किरण रावसँग दोस्रो विवाह गरे। तर किरण र आमिरको यो सम्बन्ध पनि लामो समय टिकेन र सन् २०२१ मा उनीहरूको सम्बन्ध विच्छेद भयो।
सञ्चारमाध्यमका अनुसार आमिर र गौरी विगत एक वर्षभन्दा बढी समयदेखि लिभ–इन पार्टनरका रूपमा सँगै बस्दै आएका छन्। पारिवारिक स्रोतका अनुसार उनीहरू सँगै एउटा सुखद र स्थिर जीवन बिताइरहेका छन्।
अब दुवैले आफ्नो परिवारका सदस्यहरूको उपस्थितिमा यो सम्बन्धलाई कानुनी रूपमा अगाडि बढाउने निर्णय गरेका हुन् । यो विवाह निकै निजी हुने छ, जसमा दुवैतर्फका परिवार र निकै नजिकका साथीहरू मात्र सहभागी हुने छन्।
बेंगलुरुकी स्थायी बासिन्दा गौरी एक सैलुन उद्यमी तथा फेसन व्यावसायिक हुन् । उनी एउटा मिश्रित संस्कृति भएको परिवारबाट आउँछिन्, जसमा उनका पिता तमिल–ब्रिटिस मूलका र आमा पञ्जाबी–आयरिस मूलकी हुन्।
गौरी सन् १९२० को दशकमा भारतको स्वतन्त्रता आन्दोलनमा जोडिएका ब्रिटिस कम्युनिस्ट फिलिप स्प्र्याटकी नातिनी हुन्। उनले युनिभर्सिटी अफ द आर्ट्स लन्डनबाट फेसन र स्टाइलिङको अध्ययन गरेकी छन्।
हाल उनी मुम्बईमा ‘बीब्लन्ट’ सैलुन सञ्चालन गर्छिन् र यसअघि बेंगलुरुमा पनि सैलुन चेनमा आबद्ध थिइन्।
पछिल्लो समय उनी आमिर खान प्रोडक्सन्ससँग पनि जोडिएर काम गरिरहेकी छन्। आमिर खान झैँ गौरी पनि पहिले विवाहित थिइन् र उनको एक ७ वर्षको बच्चा छ। उनीहरू विगत दुई वर्षभन्दा बढी समयदेखि मुम्बईमा सँगै रहँदै आएका छन्।
आमिर खान र गौरी स्प्र्याटले एकअर्कालाई विगत २५ वर्षदेखि चिन्दछन्। सुरुमा उनीहरू निकै राम्रा साथी थिए र पछि मात्र उनीहरूले एकअर्कालाई डेट गर्न थालेका हुन्। आमिर र गौरीले आफ्नो सम्बन्ध सार्वजनिक गरेयता गौरीलाई अक्सर आमिर खानसँग विभिन्न कार्यक्रम र समारोहहरूमा सँगै देखिने गरिएको छ।
एक पुराना अन्तर्वार्तामा आमिर खानले गौरीसँगको आफ्नो सम्बन्धबारे खुलेर कुरा गरेका थिए। उनले आफू गौरीलाई पाएर निकै भाग्यमानी महसुस गरिरहेको र उनीसँग आफूले निकै शान्ति पाउने बताएका थिए।
रीना दत्ता र किरण रावसँगको सम्बन्ध पनि निकै गहिरो भए पनि कुरा अगाडि बढ्न नसकेको उल्लेख गर्दै आमिरले गौरीको आगमनपछि मात्र आफू पूर्ण भएको महसुस गरेको स्विकारेका थिए।
आमिर खानको पहिलो विवाह सन् १९८६ मा रीना दत्तासँग भएको थियो। यो एक प्रेम विवाह थियो जुन करिब १६ वर्षसम्म चल्यो। उनीहरूका दुई सन्तान जुनैद खान र इरा खान छन्।
सन् २००२ मा कानुनी रूपमा अलग भएपछि आमिरले हालै आफ्नो यो सम्बन्ध टुट्नुको मुख्य कारण खुलाएका थिए। त्यस समयमा आफू भावनात्मक रूपमा अपरिपक्व रहेको र काममा बढी व्यस्त रहने गरेको उनले स्विकारेका छन्।
चलचित्रप्रतिको अत्यधिक झुकावका कारण उनले आफ्नो परिवार र छोराछोरीलाई पर्याप्त समय दिन सकेनन्, जसले गर्दा सम्बन्धमा दुरी बढ्यो। रीनासँग अलग भएपछि आमिर गहिरो डिप्रेसन र कुलतको चरणबाट पनि गुज्रिएका थिए।
रीना दत्तासँगको सम्बन्ध विच्छेदपछि आमिर खानको जिन्दगीमा निर्देशिका किरण रावको आगमन भयो। सन् २००५ मा विवाह गरेका उनीहरूको आईभीएफ प्रविधिमार्फत जन्मिएका एक छोरा आजाद छन्। विवाहको १५ वर्षपछि सन् २०२१ को जुलाईमा आमिर र किरणले अचानक सम्बन्ध विच्छेदको घोषणा गरेर सबैलाई अचम्ममा पारेका थिए।
आफ्नो संयुक्त बयानमा उनीहरूले यसलाई सोचविचार गरेर लिएको निर्णय बताएका थिए। समयसँगै श्रीमान्(श्रीमतीका रूपमा उनीहरूको आपसी तालमेल बद्लिएको आमिरको भनाइ थियो।
यद्यपि, सम्बन्ध विच्छेदपछि पनि उनीहरूबिच सम्मान र मित्रता कायम छ। उनीहरू आज पनि मिलेर आफ्नो छोराको पालनपोषण गरिरहेका छन् भने पानी फाउन्डेसनसहित धेरै फिल्मी प्रोजेक्टहरूमा सँगै काम गरिरहेका छन्।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार
















