कुनैपनि हालतमा निर्वाचन गराइन्छ – प्रधानमन्त्री


 


काठमाडौं, फागुन १०

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक मतभेद थाती राखेर निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । दिवंगत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसर, काठमाडौंमा  निर्मित पत्रकार स्मृतिस्तम्भको मंगलबार अनावरण गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएकाले सरकारले घोषणा गरेको निर्वाचनमा सहभागी हुन आह्वान गरे ।

उनले सहमति, सहकार्य र एकताबाटै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताए । निकै अप्ठ्यारो परिस्थितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा सरकारले गरेको भन्दै प्रधानमन्त्री दाहालले कुनैपनि हालतमा निर्वाचन गराइ छाड्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनको चरण सुरु भइसकेको र आवधिक निर्वाचनलेमात्र लोकतन्त्र संस्थागत हुने दाबी गरे ।

उनले केही तत्व धमिलो पानीमा माछा मार्ने षड्यन्त्रमा लागेको भएपनि उनीहरुको अभिष्ट पूरा नहुने बताए । मधेसी मोर्चालाई पनि निर्वाचनमा सहमत गराउन संविधान संशोधन प्रक्रियालाई अघि बढाइने उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले पत्रकारहरुलाई पनि निर्वाचनको माहोल बनाउनका लागि कलम चलाउन आग्रह गरे । कार्यक्रममा सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीलगायतले सन्चार क्षेत्रको महत्वबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्