माथिल्लो तामाकोशीको ८५ प्रतिशत काम सम्पन्न


 


काठमाडौं, फागुन १४

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको छ ।  आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अर्थ मन्त्रालयमा उपलब्ध गराएको प्रतिवेदनमा आयोजनाको प्रगति उल्लेख्य रुपमा अगाडि बढेको जनाइएको छ । अहिलेसम्म आयोजनामा ३२ अर्ब ९८ करोड खर्च भएको छ ।

भूकम्प र भारतको नाकाबन्दीका कारण आयोजनाको लागत बढेर ४१ अर्ब ७८ करोड पुग्ने अनुमान छ ।  चालु आर्थिक वर्षको ६ महिनामा मात्रै आयोजनामा ३३ करोड ३३ लाख खर्च भएको छ । चालु आर्थिक वर्षमा सरकारले आयोजनाका लागि मात्रै एक अर्ब बजेट विनियोजन गरेको थियो । आयोजनाको सुरुङ खन्न अब एक हजार तीन सय ५० मिटर मात्र बाँकी रहेको र अन्य काम पनि युद्धस्तरमा अगाडि बढेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

आयोजनको विद्युत्गृह, ट्रान्सफर्मर र क्याभिन भर्ने कार्य सम्पन्न हुने चरणमा रहेको र टेलरेसको सुरुङ खन्ने कार्य भने शतप्रतिशत पूरा भएको छ । पछिल्लो समयमा संशोधित कार्यतालिकानुसार तामाकोशीको पहिलो युनिट २०७५ असार ३१ गते सञ्चालनमा आउने छ । यस्तै बाँकी युनिट २०७५ को मङ्सिर २७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  भूकम्प र नाकाबन्दीले आयोजनाको काम झन्डै डेढ वर्ष अवरूद्ध भएको थियो । कुल ४५६ मेगावाट क्षमताको आयोजना स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजना हो ।

प्रकाशित मिति: १४ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्