नेपालमा फेरी बर्ड फ्लु, पोखराको खाल्टे मसिनामा हाँसमा देखियाे राेग



पोखरा, फागुन १४

पोखराको खाल्टे मसिनामा एक कृषकले पालेका हाँसमा बर्ड फ्लु रोग देखा परेको छ । सो ठाउँ वस्ने मिना परियारले पालेका हाँस विरामी परेपछि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्ड फ्लु रोग देखा परेको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक एवं सूचना अधिकारी डा ठगेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको अध्यक्षतामा आज वसेको जिल्ला दैविक प्रकोप उद्धार प्राविधिक समितिको वैठकले खाल्टे मसिनाको पूर्वमा खहरे खोला, पश्चिममा भगवती मार्ग, उत्तरमा खाल्टेमसिना पीच रोड र दक्षिणमा त्यस ठाउँको भीर पहरोको ५०० मिटरसम्मको चार किल्ला क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

बर्ड फ्लु रोगलाई अन्यत्र नसरोस् भनेर त्यस चार किल्ला भित्र २४ घरपरिवारले पालेका २५६ कुखुरा, ४१ हाँस, ६७ किलो दाना र ४२ किलो पक्षी तथा पक्षीजन्य पदार्थ नष्ट गरी खाल्टो खनेर व्यवस्थापन गरिएको डा अर्यालले वताउनु भयो ।

समितिले सो क्षेत्रलाई ४२ दिनसम्म संकटग्रस्त क्षेत्र घोषणासंगै पक्षी तथा पक्षीजन्य पदार्थ विक्री वितरणमा रोक लगाएको र पोखरा नगर क्षेत्रमा रहेर व्यवसाय गरेका कृषकहरुले पनि पक्षीहरु पाल्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आफूले पालेका पक्षीहरु विरामी परेर मरेमा तुरुन्त जिल्ला सेवा कार्यालयमा खवर गर्न र पक्षी तथा पक्षीजन्य पदार्थ ओसार पसार गर्दा उच्च सतर्कता अपनाउन पनि समितिले सवैलाई सचेत गराएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News