कर्णाली प्रदेशमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव


 


सुर्खेत, माघ २२ । कर्णाली प्रदेशमा ५ हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त रहेको बताए ।

कर्णालीमा २ हजार ९३१ सामुदायिक विद्यालयमा ११ हजार आठ सय ६५ दरबन्दीमा मात्र शिक्षक छन् । हाल विद्यालयका आधारमा १७ हजार तीन सय ८४ हो । ९ सय २७ प्राविमा ६ सय ४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार सात सय ९३ होभने अहिले आठ हजार एक सय ४९ जनामात्र छन् ।

यस्तै एक हजार १४० निम्नमाध्यमिक विद्यालयमा दुई हजार छ सय ९९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने चार हजार पाँच सय ६० शिक्षक हुन्भने अहिले एक हजार आठ सय ६१ जना कार्यरत छन् ।

यसैगरी, छ सय पाँच माविमा एक हजार सात सय ४९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने तीन हजार २५ शिक्षक हुन्भने अहिले एक हजार दुई सय ७६ जना शिक्षक मात्र छन् । दुई सय ५९ उच्च माविमा चार सय ५७ शिक्षक अपुग छन् । यस तहमा एक हजार ३६ शिक्षक हुनुपर्ने होभने अहिले पाँच सय ७९ जना कार्यरत रहेको अधिकृत सुनारले जानकारी दिए ।

उनका अनुसार कर्णालीमा विशेषगरी अंग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ । कानुनअनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन, निमावि तहमा चार, मावि तहमा पाँच र उच्च मावि तहमा चारजना हुनुपर्छ । शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन् ।

निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र संघीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनुपरेको उनले बताए । बालविकासदेखि उच्च माविसम्म ६ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्