देशभरका दुईसय कलेजमा आज स्ववियु निर्बाचन हुँदै


 


काठमाडौं, फागुन १८

विद्यार्थी संगठनहरुकै विवादका कारण आजका लागि तोकिएको स्ववियु निर्वाचन जम्मा ४० प्रतिशत कलेजमा मात्र हुँदैछ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका करीब दुई सय कलेजमा मात्र चुनाव हुनेछ भने बाँकी कलेजमा चुनाव नहुने भएको हो ।

तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन भएकाले ती क्याम्पसमा मात्र आज मतदान गरिनेछ । जसअनुसार ६० वटा आंगिकमध्ये विवाद नभएका २४ वटा आंगिक र बाँकी सम्बन्धन प्राप्त क्याम्पसमा मतदान हुनेछ ।

सत्तारूढ कांग्रेसनिकट नेविसंघ र प्रतिपक्षी एमालेनिकट अनेरास्ववियु तथा मधेसी विद्यार्थी संगठनलगायतले विभिन्न कलेजमा तालाबन्दी गरेकाले ६० प्रतिशत क्याम्पसमा चुनाव नहुने भएको हो । विद्यार्थी संगठनकै मागमा फागुन १४ मा गर्ने भनिएको स्ववियु चुनावको मिति चार दिनपछि सारेपनि विद्यार्थी संगठनहरु नै निर्वाचनका लागि बाधक बनेका हुन् ।

मूख्य गरी ठूला मानिएका राजधानीको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, शंकरदेव, नेपाल कमर्श, पाटन संयुक्त, महेन्द्ररत्न ताहाचल, अमृत साइन्स, सरस्वतीलगायत क्याम्पसमा तालाबन्दी गरिएको छ ।

त्रिविअन्तर्गत ६० आंगिक र सम्बन्धनका एक हजार ८४ क्याम्पस छन् । काठमाडौं उपत्यकाका सानोठिमी क्याम्पस र भक्तपुर वहुमुखी क्याम्पस, पुल्चोक इन्जिनियरिङ र थापाथली इन्जिनिययिरङ, जनप्रशासन क्याम्पस, आइओएम र नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, कृषि क्याम्पसमा चुनाव हुँदैछ ।  शंकरदेव क्याम्पसले भने आउँदो २४ गते गर्नेगरी स्ववियुको मिति तोकेको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्